काठमाडौँ, चैत २५ गते ।नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा ले आफू र आफ्नो परिवारको सम्पत्तिका विषयमा फैलाइएका समाचार भ्रामक र झुटा रहेको बताएका छन्।
बुधबार साँझ आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले पछिल्लो समय बाहिर आएका प्रचारप्रति आपत्ति जनाएका हुन्।
देउवाले सार्वजनिक पदमा रहँदा नेपालको कानुनअनुसार परिवारको सम्पत्तिको यथार्थ विवरण नियमित रूपमा सम्बन्धित सरकारी निकायमा पेश गर्दै आएको स्पष्ट पारेका छन्। साथै, भ्रामक प्रचारका पछि नलाग्न सबैमा आग्रह गरेका छन्।
उनले हाल आफू स्वास्थ्य परीक्षणका लागि विदेशमा रहेको जानकारी दिँदै उपचार प्रक्रिया पूरा गरी छिट्टै स्वदेश फर्किने उल्लेख गरेका छन्।
पछिल्लो समय बुढानीलकण्ठस्थित निवासमा भएको घटनासहित सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा विभिन्न टिप्पणी भइरहेका बेला देउवाले यस्तो धारणा सार्वजनिक गरेका हुन्।



