असार १७ , काठमाडौं । महानायक राजेश हमालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । प्रचण्डलाई भेट्न हमाल आज बिहान खुमलटारस्थित निवास पुगेका थिए ।
भेटको अवसर सङ्गीतकार चेतन सापकोटाले मिलाइदिएका हुन् । उक्त भेट राजेश हमाल र प्रचण्डको इच्छाअनुसार गराइएको चेतन सापकोटाले बताएका छन् । भेटवार्ता करिब आधा घण्टा भएको थियो ।
चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्तिका लागि दौडधूप चलिरहेको बेला भएको यो भेटलाई अर्थपूर्ण मानिएको छ ।साथै पछिल्लो समय राजेश हमाल माओवादीमा प्रवेश गर्न लागेको चर्चा व्यापक थियो । यो भेटले उक्त चर्चालाई थप बल दिएको छ ।
चेतनले आफूलाई यसबारे केही पनि थाहा नभएको बताए । यसबारे चेतनले भने, ‘म पाँच मिनेट जति मात्रै प्रचण्ड र राजेश हमालसँग भित्र बसेको थिएँ । त्यसपछि बाहिर गएँ । १५–२० मिनेट उहाँहरुले छुट्टै वार्ता गर्नुभएको थियो । त्यसैले मलाई यस विषयमा केही पनि थाहा भएन ।’


