साउन १४ , काठमाडौँ ।प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले आउँदा दिनमा भ्रष्टाचारका अन्य फाइलहरू पनि खुल्दै जाने बताउनु भएको छ ।
काठमाडौँमा आज आयोजित समाजवादी विद्यार्थी सङ्गठनको मोर्चा घोषणा कार्यक्रममा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले सरकार भ्रष्टाचार विरोधी काममा निरन्तर अगाडि बढिरहेको र त्यसका लागि सबैको समर्थन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा, प्रधानमन्त्री प्रचण्डले आउँदो मङ्गलवार पहिलो संघीय शिक्षा ऐन मन्त्रिपरिषद्बाट पारित गरी सदनमा पठाउने तयारी रहेको पनि जानकारी दिनुभयो ।

प्रधानमन्त्री प्रचण्डले सार्वजनिक नगरिएको उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन खोजी भइरहेको जानकारी समेत दिनुभयो ।उहाँले पर्सि मङ्गलवार त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष नियुक्त गरिने तयारी रहेको पनि बताउनुभयो ।प्रधानमन्त्री प्रचण्डले समाजवादी शिक्षाको सुरुवात गर्न सरकार नयाँ प्रक्रियाबाट अगाडि बढेको जानकारी दिनुभयो ।


