काठमाडौं ,कार्तिक ०८
रामबाबु गुरुङको निर्देशनमा बनेको नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ले बक्स अफिसमा आक्रामक व्यापार गरिरहेको छ। देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्स सिनेमाजले प्रदर्शनको तेस्रो दिन अर्थात् आइतबारदेखि नै चलचित्रलाई ‘सुपरहिट’को ट्याग दिएको छ।
क्यूएफएक्सका देशका प्रमुख ९ सहरमा रहेका १७ वटा हलमा प्रदर्शन भइरहेको चलचित्रले दुई दिनमै डेढ करोड रुपैयाँको व्यापार गरेपछि सुपरहिटको ट्याग पाएको हो।
क्यूएफएक्सले आइतबार उपत्यका र उपत्यकाबाहिरका हलमा गरी चलचित्रलाई ७० भन्दा बढी शो दिएको छ। निर्माण टिमका अनुसार देशभर चलचित्रले ३०० भन्दा बढी शो पाएको छ। चलचित्रका अधिकांश शो हाउसफुल भइरहेका छन्।
गत शुक्रबार अर्थात् कात्तिक ६ गतेदेखि प्रदर्शनमा आएको चलचित्रले सुरुवातदेखि नै आक्रामक व्यापार गरिरहेको छ। निर्माण टिमको अनुमानअनुसार चलचित्रले दुई दिनमै देशभरबाट ३ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको छ।
चलचित्रले दर्शक र समीक्षकबाट पनि सकारात्मक प्रतिक्रिया पाइरहेको छ। यसैबीच चलचित्रका कलाकार, निर्देशक तथा निर्माताहरू देशका विभिन्न स्थानमा पुगेर हल भिजिटमार्फत दर्शकसँग साक्षात्कार गरिरहेका छन्। विशेषगरी चलचित्रका मुख्य कलाकारको अभिनय र काजीको विवाहको प्रसंगलाई लिएर दर्शकले खुसी व्यक्त गरिरहेका छन्।
चलचित्रमा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, सिर्जना गुरुङ, विपीन कार्की, रिश्मा गुरुङ, पुष्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, मिरुना मगर, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, विष्णु मोक्तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजर, पञ्च सुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पेहिम, अनुप न्यौपाने, मधु मिजार, हेमन्त बुढाथोकी, विक्रम श्रेष्ठ, सरोज अर्याल र शेखर चापागाईंलगायत कलाकारको अभिनय रहेको छ।
बाँसुरी फिल्म्सको प्रस्तुतिमा बनेको चलचित्रमा निर्देशक रामबाबु गुरुङसँगै मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी)को लगानी रहेको छ।


