काठमाडौँ, साउन १० गते । नयाँ प्रणालीमा स्थानान्तरण गरिएको विद्युतीय राहदानी व्यवस्थापन तथा छपाइ कार्य सुधार हुँदै अगाडि बढेको छ । गत असार २९ गते फ्रान्सेली कम्पनीको प्रणालीबाट नयाँ जर्मनी प्रविधि र प्रणालीमा स्थानान्तरण भएको हो । नयाँ राहदानी लिने सेवाग्राहीको चाप बाक्लिँदै गएको छ । यस्तोमा नयाँ प्रणाली सुधारमुखी हुँदा सेवाग्राहीले केही असहज महसुस गरेका छन् । राहदानी सेवा प्रवाहलाई जनमुखी, सरल र सहज बनाउन सरकारले हदैसम्मको प्रयास गरिरहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “राहदानीलाई सहज बनाउन सरकारका तर्फबाट मन्त्रालय प्रतिबद्ध छ, ७७ जिल्ला, छ इलाका र विदेशी नियोग सबैतिरबाट नियमित सेवा छिटो गराउन लागिपरेका छौँ ।” परीक्षणकालमा देखिएको प्राविधिक समस्या समाधान गर्न दिनरात नभनी लागिपर्दै बढेको भिड कम गराउने गरी सेवा दिने प्रयासमा रहेको जानकारी उहाँले दिनुभयो । नयाँ प्रविधिमा गएसँगै हालसम्म आठ हजार २६० राहदानी छपाइ भएर वितरण भएको मन्त्रालयले जनाएको छ । उहाँका अनुसार एक सयप्रति हुँदै अहिले दैनिक १३ सयप्रति छपाउन सक्ने क्षमतामा पुगेको छ ।
जर्मनीको टोली नेपालमा
नयाँ प्रविधि प्रणालीमा नेपालको ठुलो परिमाणको तथ्याङ्क र व्यक्तिगत विवरण हस्तान्तरण सफल भए पनि नियमित राहदानी छपाइमा सहजता आउन अझै समय लाग्ने विभागका प्रवक्ता दीपक बन्जाडेले बताउनुभयो । जसका लागि जर्मनबाट आएको उच्च प्राविधिक टोली नेपाल आएको छ । उहाँका अनुसार विगतका विवरण स्थायीकरण र सुरक्षाको चुनौती नयाँ प्रणालीले सफलतापूर्वक धान्न सफल देखिएको छ । नियमित राहदानी आवेदनदेखि छपाइसम्मको प्रक्रियामा भने सुधारोन्मुख रहेको छ ।
उहाँले भन्नुभयो, “त्यसको व्यवस्थापनमा प्राविधिक समस्या देखिने गरेको छ, ती सफ्टवेयरजन्य समस्यालाई सुधार गर्दै सेवा प्रवाहलाई अघि बढाउने कसरत गरिरहेका छौँ ।” अबको सिजन विद्यार्थीको वैदेशिक अध्ययनका लागि बाहिर जाने प्रक्रिया सुरु गर्ने समय हो । त्यसैले पनि विभागलगायत देशका जिल्ला तथा इलाका प्रशासनमा सेवाग्राहीको लर्को सुरु हुने सिजन पनि हो ।
सेवा प्रवाह निरन्तर रहे पनि नयाँ प्रविधिमार्फत अनलाइन आवेदनसहित अन्य प्रक्रियामा सेवाग्राहीले हैरानी खेपिरहेका छन् । जसको गुनासो विभागले आफ्नै तवरमा समाधान गरिरहेको जानकारी बन्जाडेले दिनुभयो । उहाँले थप्नुभयो, “प्रविधि र सफ्टवेयरको समस्या हातले गरेर हुँदैन, कोडिङ र वगहरूमा सुधार गर्नै पर्छ, प्राविधिक टोलीमार्फत निरन्तर समाधान गर्दै सेवा दिँदै गरिरहेका छौँ ।”
अहिले विगतमा काम गरिरहेका जर्मन प्राविधिकलाई सघाउन थप जनशक्ति जर्मनी कम्पनीका तर्फबाट नेपाल आएको छ । जसका कारण पनि समयमै समस्या समाधान गर्न सहज भइरहेको जानकारी प्रवक्ता बन्जाडेले दिनुभयो ।
समस्या धेरै बढ्न नदिन विभागले आवेदन लिनमै कडाइ गरेको अवस्था छ । जसले थोरै असहजता महसुस गराएको आवेदकले बताउनुभएको छ । जति दिइन्छ त्यसमा सुधार गर्दै बढाउँदै लैजाने नीति रहेको विभागले औँल्याएको छ । बन्जाडेले सुधारका बारेमा भन्नुभयो, “जर्मनीबाट नयाँ प्राविधिक टोली सघाउन आएपछि हामीलाई सहज भएको छ, जस्तो समस्या आए पनि समाधान छिटो र प्रभावकारी हुँदै भविष्यमा कम गराउने प्रयास जारी छ ।” उहाँका अनुसार छपाइ गरिएका पासपोर्टप्रतिहरूमा कुनै समस्या देखिएको छैन । कागज वा अन्य प्राविधिक विषयमा अहिलेसम्म कुनै गुनासो विभागमा पुगेको छैन ।
स्थानान्तरणको पहिलो दिन नै १६९ वटा राहदानी छपाइ गरेको विभागले त्यसपछि हरेक दिन एक हजारभन्दा बढी राहदानी छपाइ गर्दै आएको छ । जस अनुसार गत मङ्गलबार देशभरबाट एक हजार ४७ थान र बुधबार एक हजार एक सय राहदानी छपाइ गरेको थियो । विगतमा दैनिक कम्तीमा दुई हजार पाँच सय आवदेन लिँदै बढीमा छ हजार थानसम्म राहदानी छपाइ तथा वितरण गर्ने गरेको थियो ।
नयाँ राहदानी प्रणालीलाई क्रमैसँग सबै जिल्ला र नियोगमा सहज सञ्चालन गर्न आवश्यक सफ्टवेयर अपडेट गर्ने कार्य निरन्तर भइरहेकाले केही जिल्ला प्रशासन कार्यालय तथा नेपाली नियोगहरूमा आवेदन रुजु प्रणाली सञ्चालन हुन केही ढिलाइ भएको विभागले जनाएको छ ।



