काठमाडौं ,कार्तिक १६
मंसिरको पहिलो साताबाट छायांकन सुरु गर्ने तयारीमा रहेको फिल्म ‘एक्का तीन’मा अभिनेता सुशील श्रेष्ठ अनुबन्धित भएका छन् । निर्माण पक्ष र सुशीलबीच फिल्मका लागि औपचारिक सम्झौता भइसकेको छ ।
हाल फिल्म ‘साम्राज्य’को छायांकनमा व्यस्त सुशीलले मंसिरको पहिलो साताबाट ‘एक्का तीन’को छायांकनमा सहभागी हुनेछन् । नेपाली फिल्ममा एक्सन अभिनेताको पहिचान बनाएका सुशीलको प्रवेशले फिल्मको कलाकार टोली थप बलियो बनेको छ ।
रुपेश तामाङको निर्देशनमा निर्माण हुन लागेको फिल्ममा अभिनेत्री पूजा शर्मा र कविता नेपाली यसअघि नै अनुबन्धित भइसकेका छन् । एक्सनमा समेत आफ्नो क्षमता देखाइसकेका यी तीन कलाकारको सहकार्यले फिल्मप्रति दर्शकको चासो बढाउने देखिन्छ ।
सुमन गजमेरको कथा रहेको फिल्मलाई जुना फिल्मस्ले निर्माण गर्न लागेको हो ।
यद्यपि, फिल्ममा सुशीलको जोडीका रूपमा पूजा शर्मा र कविता नेपालीमध्ये को रहनेछिन् भन्नेबारे निर्माण पक्षले अहिलेसम्म केही जानकारी दिएको छैन । त्यसैले ‘एक्का तीन’मा सुशीलको जोडी को बन्लिन् भन्ने कौतुहलता बढेको छ ।


