काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक **पुष्पकमल दाहाल ‘प्रचण्ड’**ले सरकारले राष्ट्रिय महत्वका संवेदनशील विषयमा साझा समाधान खोज्ने पहल गर्न नसकेको आरोप लगाएका छन्।
सिंहदरबारमा बुधबार आयोजित सर्वदलीय बैठकमा बोल्दै उनले सुनसरीमा विकसित पछिल्लो घटनाक्रमप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र आपसी विश्वास कायम राख्न सबै पक्षले संयमता अपनाउनुपर्ने बताए।
प्रचण्डले विगतमा भूकम्प, बाढी–पहिरोजस्ता विपद् तथा संविधान निर्माणजस्ता जटिल अवस्थामा राजनीतिक दलहरूले राष्ट्रिय एकता र सहमतिको उदाहरण प्रस्तुत गरेको स्मरण गराउँदै अहिले पनि त्यही परिपक्वता, संवाद र जिम्मेवारी आवश्यक रहेको धारणा राखे।
उनले राष्ट्रिय महत्वका यस्ता संवेदनशील विषयमा सरकार साझा समाधानतर्फ प्रभावकारी रूपमा अघि बढ्न नसकेको भन्दै प्रश्न उठाए। संकटका बेला सरकार अझ जिम्मेवार, सक्रिय र संवेदनशील हुनुपर्ने उनको भनाइ थियो।
सर्वदलीय बैठकको पहल गरेकोमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई धन्यवाद दिँदै प्रचण्डले प्रधानमन्त्रीले सबै राजनीतिक दललाई विश्वासमा लिएर तत्काल सर्वदलीय संवाद र सहमतिको वातावरण बनाउनुपर्ने बताए। संसद्भित्र पनि सरकारको प्रस्तुति अपेक्षाअनुसार प्रभावकारी हुन नसकेको उनको टिप्पणी थियो।
उनले बल प्रयोग कुनै पनि समस्याको दीर्घकालीन समाधान हुन नसक्ने उल्लेख गर्दै संवाद, सहमति र राजनीतिक समझदारीबाट मात्रै जटिल परिस्थितिको निकास सम्भव हुने बताए।
प्रचण्डले आफ्नो पार्टीले यस विषयमा आधिकारिक धारणा सार्वजनिक गरिसकेको र स्थानीय तहमा संयमता तथा सामाजिक सद्भाव कायम राख्न पार्टी पंक्तिलाई आवश्यक निर्देशन दिइसकेको जानकारी दिए। घटनास्थलमा स्थानीय व्यक्तिमात्र नभई बाहिरबाट वातावरण भड्काउने तत्वहरू पनि सक्रिय हुन सक्ने भएकाले सबै पक्षलाई उच्च सतर्कता अपनाउन उनले आग्रह गरे।


