काठमाडौं । नेपाली लोकसंगीत क्षेत्रकी चर्चित तथा लोकप्रिय गायिका विष्णु माझीको नयाँ लोकदोहोरी गीत ‘फूल प्याउली’ सार्वजनिक भएको छ । चर्चित गीतकार नवराज पन्तको मन छुने शब्द रहेको गीतमा संगीत स्वयं गायक बसन्त थापाले भरेका छन् ।
‘दादै फर्के सल्लो’, ‘सालको पातको टपरी’ जस्ता लोकप्रिय गीतमा सहकार्य गरेका गायिका माझी, गायक थापा र गीतकार पन्त केही समयको अन्तरालपछि फेरि नयाँ गीतमार्फत दर्शक तथा स्रोतामाझ आएका हुन् । डान्सिङ शैलीमा तयार गरिएको गीतलाई एसएस सिरिज युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
मौलिक भाका र नेपाली जनजीवनको मिठास समेटिएको गीतमा विष्णु माझीलाई गायक एवं संगीतकार बसन्त थापाले स्वरमा साथ दिएका छन् । नेपाली गाउँघरको संस्कृति, लाहुरे परिवेश, मौलिक जीवनशैली र मायाप्रेमको भावनालाई गीतमा सुन्दर ढंगले प्रस्तुत गरिएको छ ।
विदेश तथा सहरबाट आफ्नो गाउँ फर्किएको परिवेश, गाउँको रमणीय वातावरण र फूलैफूलले सजिएको परिवेशलाई गीतले वर्णन गरेको छ । विष्णु माझीको जादुमयी स्वर र बसन्त थापाको ठेट गायकीको संगमले गीतलाई थप आकर्षक बनाएको छ ।
गीतको भिडियोसमेत निर्माण गरिएको छ । भिडियोमा चर्चित डान्सर तथा मोडल प्रदीप लामा र मोडल जुना विश्वकर्माको अभिनय तथा नृत्य देख्न सकिन्छ । लाहुरे गाउँ फर्किएको परिवेश, मेलापात, घाँस–दाउरा, ढिकी–जाँतो, रोदी–झ्याउरे तथा नेपाली मौलिक जनजीवनलाई भिडियोमा आकर्षक ढंगले समेटिएको छ ।
हिमशृङ्खला तथा रमणीय पहाडी भूगोलको पृष्ठभूमिमा खिचिएको भिडियोले दर्शकको ध्यान आकर्षित गर्छ । भिडियोको निर्देशन तथा छायांकन मौसम हिमालीले गरेका हुन् भने नविन उप्रेतीले खिचेको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका छन् ।
गीतका निर्माता अर्जुन बोहरा हुन् । गीतले दर्शक तथा स्रोताको मन जित्नेमा गायक बसन्त थापा विश्वस्त छन् ।


