काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ३० रनले पराजित गरेको छ । चितवनले दिएको १५२ रनको लक्ष्य पछ्याएको पोखरा १९ ओभरमा १२१ रनमै समेटियो ।
पोखराका लागि अर्जुन कुमालले सर्वाधिक ४५ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । चितवनका रिजन ढकालले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए भने कमलसिंह ऐरीले ३ विकेट हात पारे ।
यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५१ रन बनाएको थियो ।
चितवनका कप्तान सिकन्दर राजाले ३७ रन बनाउँदा रवि बोपराले ३५ र अर्जुन साउदले ११ रनको योगदान दिए । पोखराका चमिका करुणारत्ने, कुशल भुर्तेल र विपिन खत्रीले समान २–२ विकेट लिए ।
यो हारसँगै पोखराले प्रतियोगितामा लगातार चौथो पराजय बेहोरेको छ । बाँकी तीन खेल जिते पनि अन्य टोलीको नतिजामा निर्भर रहनुपर्ने भएपछि पोखराको प्लेअफ यात्रा कठिन बनेको छ ।
चार खेलबाट पाँच अंक जोडेको चितवन भने अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।
यसअघि आजै भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ३९ रनले पराजित गरेको थियो ।


