काठमाडौं । चलचित्र ‘सिन्दुरे जात्रा’को रोमान्टिक गीत ‘बाँसैको सुप्लाखे’ सार्वजनिक भएको छ । प्रशान्त सिवाकोटी र मेलिना राईको स्वर रहेको गीतमा सुरज गैरे विवशको शब्द तथा प्रशान्त सिवाकोटीकै संगीत रहेको छ ।
प्रेमिल भावनाले भरिएको गीतमा प्रेम, लाज, इसारा, विश्वास र समर्पणलाई प्रस्तुत गरिएको छ । प्रेममा रहेका युवा–युवतीले आँखाको इसारामै मनका कुरा साटेको र एकअर्काप्रति जीवन समर्पित गरेको भाव गीतमा समेटिएको छ ।
सार्वजनिक गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार विजय बराल र अञ्जना बराइली देखिएका छन् । उनीहरूको आकर्षक नृत्य र प्रेमिल केमेस्ट्रीले गीतलाई थप मनोरञ्जनात्मक बनाएको छ । विशेषगरी विजयको नृत्यले दर्शकको ध्यान खिच्ने देखिन्छ ।
सरोज पौडेलको निर्देशनमा बनेको ‘सिन्दुरे जात्रा’मा नेपाली चलचित्र क्षेत्रको सफल जोडी विजय बराल र अञ्जना बराइली पुनः एकसाथ देखिँदैछन् । उनीहरूको यो दोस्रो सहकार्य हो । यसअघि यी दुईले नेपाली चलचित्र इतिहासकै सफल चलचित्रमध्ये एक ‘पूर्णबहादुरको सारङ्गी’मा सँगै काम गरेका थिए ।
चलचित्रमा विजय र अञ्जनासँगै विनोद न्यौपाने, उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोला राज सापकोटा, हिउँवाला गौतम, राकेश खड्का, युना खड्का, अनिता गिरी, रजनी गुरुङ, देशभक्त खनाल र विनोद परियारलगायत कलाकारको अभिनय रहेको छ ।
सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको चलचित्रको कथा निर्देशक सरोज पौडेल स्वयंले तयार पारेका हुन् ।
सारङ्गी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको चलचित्रका निर्माता नेम महर्जन हुन् । सह–निर्मातामा राकेश खड्का र श्याम मगर छन् भने एसोसिएट निर्मातामा सुमन रञ्जित तथा लाइन निर्मातामा अनिश अधिकारी रहेका छन् ।
दिनेश खड्का कार्यकारी निर्माता रहेको चलचित्रमा पदमबहादुर श्रेष्ठ (बाबु)को छायांकन, सुरेन्द्र पौडेलको सम्पादन र विशाल घिमिरेको क्रिएटिभ निर्देशन रहेको छ । चलचित्रमा प्रशान्त सिवाकोटीको संगीत रहनेछ ।
आगामी मंसिर १८ गते प्रदर्शनमा आउने चलचित्रको वितरण नेसनल सिने ग्रुप नेपालले गर्नेछ । बिग मुभिज थिएटर पार्टनर र ओएसआर डिजिटल डिजिटल पार्टनरका रूपमा रहेका छन् ।


