काठमाडौं । अभिनेता हरिवंश आचार्यले चलचित्र ‘पाँच पाण्डव’ले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको बताएका छन् । दर्शकसँग भेट्न र चलचित्रबारे प्रतिक्रिया लिन हल पुगेका उनले दर्शकले चलचित्र मन पराएको बताएका हुन् ।
“सिनेमा हेर्न आउनुभएका दर्शकले चलचित्र राम्रो लागेको बताउनुभएको छ । हेर्नेजति दर्शकले सिनेमा मन परेको बताउनुभएको छ,” हरिवंशले भने, “फेमिली ड्रामा भएकाले सबै परिवारसँगै बसेर हेर्न मिल्ने चलचित्र भन्नुभएको छ ।”
चलचित्रको विषयवस्तुलाई लिएर सुरुमा उठेको विवादबारे बोल्दै हरिवंशले धर्मका नाममा कसैलाई पनि नराम्रो देखाउने काम नगरिएको स्पष्ट पारे । चलचित्र प्रदर्शनमा आएपछि यसबारे दर्शकले पनि बुझिसकेको उनको भनाइ छ ।
“धर्मको विषयमा नराम्रो देखाउने र कसैको चित्त दुखाउने काम भएको छैन,” हरिवंशले भने, “कसैको चित्त दुखाउने काम गर्न पनि हुँदैन ।”
चलचित्र हेरेका दर्शकले पनि धर्मको विषयलाई लिएर त्यस्तो कुनै नराम्रो पक्ष नरहेको प्रतिक्रिया दिएको उनले बताए ।
बसन्त निरौलाको निर्देशनमा बनेको ‘पाँच पाण्डव’मा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिग्देल, सुशील सिटौला, इभा गिरीलगायत कलाकार मुख्य भूमिकामा छन् ।
काली रानी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा दीपाश्री निरौला, सरिता गिरी, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने र रितेश पौडेल (रितेशजंग खत्री)लगायत कलाकारको पनि अभिनय छ ।
चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् । उनले यसअघि गत वर्ष चलचित्र ‘लाज शरणम्’ निर्माण गरेका थिए । चलचित्रकी निर्मात्री काली रानी श्रेष्ठ हुन् ।
‘पाँच पाण्डव’को कथा, पटकथा तथा संवाद सुशील पौडेलले लेखेका हुन् । लेखक पौडेलले चलचित्र सामाजिक विषयवस्तुमा आधारित सोसल ड्रामा रहेको बताएका छन् । उनका अनुसार महाभारतका पाँच पाण्डवका चरित्र र विम्बलाई प्रयोग गर्दै चलचित्रले समकालीन नेपाली समाजको कथा प्रस्तुत गरेको छ ।
चलचित्रलाई श्याम तामाङले छायांकन गरेका हुन् । सुप्रिम पराजुलीले सम्पादन तथा रङ्ग संयोजन, सम्राट बस्नेतले द्वन्द्व निर्देशन, गम्भीर विष्ट र विक्रम स्वाँरले कोरियोग्राफी गरेका छन् ।
चलचित्रमा अर्जुन पोखरेलको संगीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन, सुजिल कर्माचार्यको ब्याकग्राउन्ड म्युजिक (बीजीएम), पुकार धिमालको भीएफएक्स, रोहित राज गौतमको एचओपी र विष्णु बुढाथोकीको प्रोडक्सन म्यानेजमेन्ट रहेको छ ।
चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल हो । रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले चलचित्रलाई देशव्यापी वितरण गरेको छ ।


