काठमाडौं । हास्यव्यङ्ग्यात्मक नेपाली चलचित्र ‘तिरिमिरी झ्याइँ’को फस्टलुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ । समीरको निर्देशनमा निर्माण भएको चलचित्र आगामी माघ २८ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने भएको छ ।
चलचित्रका मुख्य पात्रहरूको सामूहिक उपस्थिति रहेको पोस्टरमा कलाकारहरूलाई फलामे बारभित्र कैद अवस्थामा देखाइएको छ । पोस्टरमा आभास अधिकारी, सुमन कोइराला, रियर राई, सुरज चौलागाईं र सरोज अर्याल देखिएका छन् । उनीहरूको अनुहारमा देखिने फरक–फरक हाउभाउले चलचित्र हास्यप्रधान रहेको संकेत गर्छ । पोस्टर ट्राइडेन्ट कन्सेप्टका रोयल भीमसेनले डिजाइन गरेका हुन् ।
आभास अधिकारीको कथा तथा अवधारणामा तयार भएको चलचित्र मनोरञ्जनात्मक तथा सामाजिक विषयवस्तुमा आधारित छ । समकालीन समाजका विविध रमाइला र ठट्यौली पक्षलाई रोचक शैलीमा प्रस्तुत गरिने चलचित्रले दर्शकलाई हँसाउनुका साथै सामाजिक परिवेशसँग पनि जोड्ने निर्माण पक्षको अपेक्षा छ ।
होराइजन मोसन पिक्चर्स प्रालिको ब्यानरमा निर्माण भएको यस चलचित्रमार्फत ‘दले दाइ’ उपनामले चर्चित कमेडियन सुमन कोइरालाले ठूलो पर्दामा डेब्यु गरेका छन् । चलचित्रमा वरिष्ठ अभिनेता धिरेन शाक्यसहित आभास अधिकारी, सरोज अर्याल, रियर राई, सुमन कोइराला, सुरज चौलागाईं, राज न्यौपाने, जयराम ढकाल, राजश्री थापा र घनश्याम जोशीलगायत कलाकारको अभिनय रहनेछ ।
चलचित्रमा विशाल कक्षपतिको छायांकन, अभिषेक कार्कीको संगीत रहेको छ । गणेश उपाध्याय, प्रेमबहादुर थापा र सुमन कोइरालाले संयुक्त रूपमा चलचित्रको पटकथा तथा संवाद तयार पारेका हुन् । त्यसैगरी सियोन श्रेष्ठको कोरियोग्राफी र ट्राइडेन्ट कन्सेप्टको पोस्टर तथा प्रचारप्रसार डिजाइन रहेको छ ।
चलचित्रका निर्माता प्रद्युम्न बोगटी (प्रविन) हुन् भने आभास अधिकारी कार्यकारी निर्माताका रूपमा छन् । सहनिर्मातामा भूपेन्द्र सिटौला (नीरज), शम्भु कार्की, विनोद बुढाथोकी, दिनेश श्रेष्ठ र अनिल शर्मा रहेका छन् ।


