काठमाडौं । लक्ष्मीपूजाको अवसर पारेर नयाँ चलचित्र ‘हजुरबाले भनेथे’ निर्माणको घोषणा गरिएको छ । नीर शाह मुख्य भूमिकामा रहने चलचित्रलाई सुरेश न्यौपानेले निर्देशन गर्नेछन् ।
सान्भी इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको चलचित्रका लागि शोभित बस्नेतले नीर शाहलाई भेटेर मुख्य भूमिकामा अनुबन्धित गरेका हुन् ।
ए टु जेड क्लिनिङ सप्लायर्स सिड्नीको तर्फबाट कृष्ण थापा, बन्धुराज वाग्ले, रोमिन पिया र समीर शाहीको प्रस्तुति रहने चलचित्रका निर्माता निरोज श्रेष्ठ हुन् । चलचित्रमा नवीन घायल कार्यकारी निर्माता र हिमाल भण्डारी सहनिर्माताका रूपमा रहनेछन् ।
चलचित्रमा नीर शाह हजुरबाको भूमिकामा देखिनेछन् । तर, उनका नातिको भूमिकामा कसलाई अभिनय गराउने भन्ने टुङ्गो लागिसकेको छैन । चलचित्रमा दुई नायक र दुई नायिका रहने निर्माण पक्षले जनाएको छ । अन्य कलाकार तथा प्राविधिक टोलीको जानकारी चाँडै सार्वजनिक गरिने बताइएको छ ।
आगामी माघ महिनाबाट छायांकन सुरु हुने चलचित्रको ६० प्रतिशत छायांकन अस्ट्रेलिया र ४० प्रतिशत छायांकन जुम्लामा गरिनेछ ।
‘परान’पछि नीर शाह यस चलचित्रमार्फत पुनः शीर्ष भूमिकामा देखिन लागेका हुन् । कमेडी तथा पारिवारिक कथामा निर्माण हुने चलचित्रले दर्शकलाई धेरै हँसाउने र थोरै रुवाउने लक्ष्य राखेको निर्माण पक्षले जनाएको छ ।


