फागुन १३ ,काठमाडौं । यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा नेपाली काँग्रेसका उमेदवारलाई सघाउने निर्णय आठ दलले गरेका छन ।सुक्रबार बालुवाटारमा बसेको आठ दलका शीर्ष नेताहरुको बैठकले संसदमा सबैभन्दा ठूलो दल नेपाली काँग्रेसका उमेदवारलाई सघाउने निर्णय भएको नेकपा एकिकृत समाजवादीका नेता प्रकाश ज्वालाले जानकारी दिनुभयो ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सहमतिको विषयमा छलफल अघि बढाउनुभएको थियो ।बैठकमा प्रधानमन्त्रीले अब सत्ता समिकरणसमेत नयाँ बनाएर जानुपर्ने प्रस्ताव राख्नुभएको नेता ज्वालाले जानकारी दिनुभयो । तर सरकारको समिकरण र गठबन्धनको विषयमा भने थप छलफल नभएको उहाँको भनाइ थियो ।
काँग्रेसको उमेदवारलाई राष्ट्रपतिमा सघाउ नेपाली कांग्रेससहित, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीबीच सहमति बनेको हो ।
१३ गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गर्नुपर्ने निर्वाचन तालिका रहेको छ ।


