काठमाडौं ,चैत्र २२
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुढानीलकण्ठ स्थित हेपाली हाइटबाट पक्राउ गरेको हो ।उनलाई पक्राउ गर्न प्रहरी उनको घरमै पुगेको थियो ।
संगठित रुपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका रास्वपा सभापति रवि लामिछानेलाई उच्च अदालतको बुटवल इजलासले थुनामा पठाउन शुक्रबार आदेश भएको थियो ।उनलाई आजै बुटवल भैरहवा लगिने बुझिएको छ ।
शुक्रवार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागी थुनामा पठाउन आदेश गरेको थियो । न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले सो आदेश गरेका हुन् ।उच्चको आदेशसँगै यसअघि लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले १ करोड धरौटीमा छाड्ने आदेश बदर भएको छ ।
पक्राउ पर्नु अघि रास्वपा सभापति रवि लामिछाने सामाजिक संजालमा यस्तो लेखेका थिए —
सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफै आजै अहिले नै गिरफ्तारी दिदैछु। साथै न्यायलयका अन्य ढोकाहरु मेरा लागि खुल्ला होलान् नै । न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउछु ।
म माथि ठुलो अन्याय भएको छ ।
चितवनको सभा नरोक्नुस्।



