काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई स्थापित गराउन देशी तथा विदेशी शक्तिहरूले ठूलो लगानी गरिरहेको आरोप लगाएका छन्।
मंगलबार काठमाडौंमा आयोजित चुरे भावर पार्टीसँगको एकता तथा समायोजन कार्यक्रममा बोल्दै दाहालले विचार र सिद्धान्तभन्दा ‘स्टन्ट’ का आधारमा लोकप्रिय बनाइने प्रवृत्ति बढ्दै गएको दाबी गरे। उनका अनुसार यस्ता गतिविधिलाई बाह्य शक्तिहरूले योजनाबद्ध रूपमा प्रयोग गरिरहेका छन्।
पूर्वप्रधानमन्त्री दाहालले त्याग, तपस्या र बलिदानमा आधारित राजनीतिक संस्कारलाई पन्छाएर केवल चर्चाका लागि गरिने कामलाई प्रवर्द्धन गर्नु मुलुकका लागि सकारात्मक नहुने बताए। उनले भने, “अहिले विचार र राजनीतिक मूल्यमान्यताभन्दा स्टन्टका भरमा पपुलर हुनेहरूलाई नै देशी–विदेशी शक्तिले ठूलो लगानी गरेर प्रमोट गरिरहेको देखिन्छ।”
उनले भ्रष्टाचारविरुद्धको अभियान र सामाजिक न्यायका मुद्दा वास्तविक सुधारभन्दा पनि प्रचारमुखी शैलीमा अघि बढाइएको जिकिर गरे। दाहालका अनुसार यस्तो प्रवृत्तिले दीर्घकालीन राजनीतिक स्थायित्व र मूल्य–मान्यतालाई कमजोर बनाउने खतरा छ।
दाहालले मुलुकमा राष्ट्रिय शक्ति निर्माण गर्न कम्युनिस्ट तथा वामपन्थी शक्तिहरूबीच एकता अपरिहार्य रहेको उल्लेख गरे। इतिहासको सम्मान गर्दै राजनीतिक मूल्यमान्यतामा आधारित आन्दोलनलाई संगठित गर्नकै लागि आफूले कम्युनिस्ट पार्टीहरूको ध्रुवीकरण प्रक्रियालाई तीव्रता दिएको पनि उनले बताए।
कम्युनिस्ट र देशभक्त शक्तिहरूको एकताबाट मात्रै देशलाई वर्तमान संकटबाट जोगाउन सकिने दाबी गर्दै उनले अन्य छरिएर रहेका राजनीतिक शक्तिहरूलाई समेत एकताको प्रक्रियामा सहभागी हुन आह्वान गरे।


