काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले राजनीतिक दलमाथि प्रतिशोधको राजनीति गरिरहेको आरोप लगाएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारले राजनीतिक दलप्रति नियोजित रूपमा घृणा फैलाउने प्रयास गरिरहेको दाबी गरे। उनले यस्तो प्रवृत्तिको सशक्त रूपमा प्रतिवाद गरिने पनि बताए।
अध्यक्ष ओलीले नेपालको लोकतान्त्रिक आन्दोलन, जनअधिकारको स्थापना र राजनीतिक परिवर्तनको नेतृत्व राजनीतिक दलहरूले नै गरेको उल्लेख गर्दै दलहरूको भूमिकालाई कमजोर पार्ने प्रयास स्वीकार्य नहुने बताए।
उनले नयाँ र पुराना दलको नाममा भइरहेको बहसले समाजमा अनावश्यक विवाद र विभाजन सिर्जना गर्न सक्ने भन्दै त्यसतर्फ सचेत रहन आग्रह गरे।
राजनीतिक दल समयको मागअनुसार परिवर्तन हुँदै अघि बढ्ने संस्था भएकाले जुनसुकै चुनौतीपूर्ण परिस्थितिमा पनि पुनः उठ्न र संघर्ष गर्न सक्ने क्षमता आफूहरूमा रहेको अध्यक्ष ओलीको भनाइ थियो।



