काठमाडौं । सामाजिक सञ्जालमार्फत भ्रामक सामग्री प्रसारण गरेको तथा चरित्रहत्या गर्ने उद्देश्यले अभिव्यक्ति दिएको आरोपमा अभियन्ता वेदिका केसी पक्राउ परेकी छन्।
नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोले कथावाचिका राधिका दासीको उजुरीका आधारमा बिहीबार काठमाडौंको जोरपाटीबाट केसीलाई पक्राउ गरेको हो।
ब्युरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) दिलीपकुमार गिरीका अनुसार सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको, गाली–बेइज्जती गरेको र चरित्रहत्या गर्न खोजेको भन्ने उजुरी प्राप्त भएपछि थप अनुसन्धानका लागि केसीलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीले उनीविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत साइबर अपराधसम्बन्धी मुद्दा अघि बढाउने तयारी गरेको जनाएको छ।
पछिल्लो समय वेदिका केसीले सामाजिक सञ्जाल र विभिन्न अन्तर्वार्तामार्फत सनातन धर्मभित्र रहेका विकृति, अन्धविश्वास तथा आफूले नक्कली धामी–झाँक्री र ‘माता’ भनेर चिनिएका व्यक्तिहरूविरुद्ध आवाज उठाउँदै आएको बताउँदै आएकी थिइन्।
यसै क्रममा उनले कथावाचिका राधिका दासीका धार्मिक गतिविधि, व्यक्तिगत जीवन तथा महायज्ञसँग सम्बन्धित विषयमा सार्वजनिक रूपमा प्रश्न उठाउँदै आएकी थिइन्। त्यसपछि दुवैबीच आरोप–प्रत्यारोप बढ्दै गएको थियो।
राधिका दासीले वेदिका केसीले सामाजिक सञ्जालमार्फत आफ्नो चरित्रहत्या हुने गरी भ्रामक प्रचारप्रसार गरेको भन्दै साइबर ब्युरोमा उजुरी दिएपछि प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको हो।



