सुनसरी । साउने सोमबारको ‘बोलबम’ जलयात्राका क्रममा डिजे बजाउने विषयलाई लिएर सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्ज बजारमा भएको विवाद हिंसात्मक बन्दा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको छ।
प्रहरीको गोली लागेर गम्भीर घाइते भएका स्थानीय २४ वर्षीय ओमप्रकाश मेहतालाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लगिएको थियो। उपचारकै क्रममा आइतबार राति उनको निधन भएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिएका छन्।
प्रहरीका अनुसार बोलबम जलयात्राका लागि एउटा समूह रातिको समयमा डिजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने तयारीमा थियो। सोही क्रममा अर्को समूहले राति अबेरसम्म ठूलो आवाजमा डिजे बजाएको भन्दै विरोध जनाएपछि सामान्य भनाभन सुरु भएको थियो। केही समयमै विवाद चर्किँदै दुई पक्षबीच झडप भएको र अवस्था तनावपूर्ण बनेको प्रहरीले जनाएको छ।
झडप उग्र बनेपछि भीडले कप्तानगञ्ज बजारका घर, मेडिकल, सवारीसाधन तथा अन्य निजी र सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी गरेको बताइएको छ। स्थिति नियन्त्रणमा लिन प्रहरीले सुरुमा अश्रुग्यास प्रहार र हवाई फायर गरेको थियो। त्यसबाट पनि अवस्था नियन्त्रणमा नआएपछि बाध्य भएर गोली चलाउनु परेको प्रहरीको भनाइ छ।
घटनामा प्रदर्शनकारीतर्फ ८ जना र प्रहरीतर्फ ८ जना गरी कुल १६ जना घाइते भएका छन्। प्रदर्शनकारीमध्ये अधिकांशलाई गोली लागेको जनाइएको छ। घाइतेहरूको विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
उता ढुंगामुढाबाट प्रहरी निरीक्षक राकेश राईसहित ८ जना सुरक्षाकर्मी पनि घाइते भएका छन्। घाइते हुनेमा प्रहरी नायब निरीक्षक, प्रहरी सहायक निरीक्षक, हवल्दार तथा अन्य प्रहरी कर्मचारी रहेका छन्।
घटनापछि कप्तानगञ्ज बजार क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको ठूलो संख्या परिचालन गरिएको छ। सम्भावित थप अप्रिय घटना रोक्न सुरक्षा व्यवस्था कडा पारिएको छ भने घटनाबारे निष्पक्ष छानबिन प्रक्रिया अघि बढाइएको स्थानीय प्रशासनले जनाएको छ।



