पोखरा । लमजुङमा पहिरोले धन्सार पुरिँदा बाबु–छोरीको मृत्यु भएको छ। मध्यनेपाल नगरपालिका–७ भाटबेशीमा कुलो भत्किएपछि आएको पहिरोले विष्णुदत्त सुवेदीको दुईतले धन्सार भत्काउँदा उक्त घटना भएको हो।
प्रहरीका अनुसार धन्सारमा बस्दै आएका मर्स्याङ्दी गाउँपालिका–१, घनपोखराका टिकबहादुर विक र उनकी कान्छी छोरी विनीता विकको घटनास्थलमै मृत्यु भएको हो।
घटनामा टिकबहादुरकी श्रीमती सुककुमारी विक र अर्की छोरी अस्मिता विक घाइते भएका छन्। उनीहरूको पोखरास्थित पश्चिमाञ्चल अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय भोर्लेटारका प्रमुख ध्रुवप्रसाद शर्माले जानकारी दिएका छन्।
प्रहरीका अनुसार पहिरोले धन्सार भत्किँदा चार जना पुरिएका थिए। स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा उद्धार गरिएको भए पनि बाबु–छोरीलाई बचाउन भने सम्भव नभएको जनाइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


