सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ मा भएको झडपमा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा नेपाल सरकारबीच ७ बुँदे सहमति भएको छ। गृहमन्त्री सुधन गुरुङको प्रत्यक्ष पहलमा बिहीबार राति गृह मन्त्रालय र पीडित परिवारबीच औपचारिक सम्झौतामा हस्ताक्षर भएको हो।
सम्झौताअनुसार सरकारले मृतक दुवैलाई सहिद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने तथा दुवै परिवारलाई १०–१० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ। साथै घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानुनबमोजिम तत्काल कारबाही अघि बढाइने प्रतिबद्धता पनि जनाएको छ।
त्यस्तै, मृतकका परिवारबाट एक–एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, छानबिन समितिको प्रतिवेदनका सुझाव र सिफारिसहरू शीघ्र कार्यान्वयन गर्ने तथा मृतकहरूको सम्झनामा स्थानीय सरकारसँग समन्वय गरी स्मृति पार्क निर्माण गर्ने विषयमा पनि सहमति भएको छ।
सम्झौतापत्रमा पीडित परिवारका तर्फबाट ओमप्रकाश मेहताका अभिभावक र जयप्रकाश मेहताका अभिभावक नरेश मेहताले हस्ताक्षर गरेका छन् भने सरकारका तर्फबाट गृहमन्त्री सुधन गुरुङले हस्ताक्षर गरेका छन्।
यसैबीच, मृतक दुवैको अन्तिम संस्कार आज दिउँसो २ बजे गरिने तय भएको छ।



