सिराहा । सिराहाको गोलबजार क्षेत्रमा साउन १४ गते भएको घटनामा ज्यान गुमाएका गणेश यादवका परिवार र नेपाल सरकारबीच ७ बुँदे सहमति भएको छ। शुक्रबार औरही गाउँपालिका–२, मोतिपुरमा गृह मन्त्रालय र मृतकका परिवारबीच भएको वार्तापछि सहमतिपत्रमा हस्ताक्षर गरिएको हो।
सहमतिअनुसार सरकारले गणेश यादवलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने तथा मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
त्यस्तै, गोलबजारमा भएको घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानुनअनुसार आवश्यक कारबाही अघि बढाइने सहमतिमा उल्लेख गरिएको छ।
सरकारले मृतकका परिवारका एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, छानबिन समितिले पेश गर्ने प्रतिवेदनका सुझाव तथा सिफारिसहरू कानुनबमोजिम कार्यान्वयन गर्ने तथा स्थानीय सरकारसँगको समन्वयमा मृतकको सम्झनामा स्मृति पार्क निर्माण गर्ने प्रतिबद्धता पनि जनाएको छ। पार्कभित्र गणेश यादवको शालिक स्थापना गरिने सहमतिमा उल्लेख छ।
यसका साथै, मृतकको अन्त्येष्टि सम्पन्न गर्ने, मृतककी श्रीमती र बहिनीलाई उपयुक्त रोजगारी उपलब्ध गराउन पहल गर्ने तथा मृतकका बुवाको उपचारका लागि आवश्यक सहयोग गर्ने विषय पनि सहमतिमा समेटिएको छ।
सरकार र पीडित परिवारबीच सहमति भएपछि पछिल्ला दिनदेखि तनावग्रस्त बनेको सिराहाको अवस्था अहिले सामान्य बन्दै गएको र क्षेत्रमा शान्ति कायम भएको जनाइएको छ।


