माघ २६ , काठमाडौं । आज बस्ने भनिएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भनिएको राजनीतिक संयन्त्रको बैठक स्थगित भएको हो ।बरु सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा भने पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी ओलीबीच छलफल भने जारी छ ।
सरकारलाई सघाउन भन्दै एमाले अध्यक्ष ओलीको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाइएको थियो । प्रधानमन्त्री दाहाल र एमालेका अध्यक्ष ओलीबीच राष्ट्रपतिको निर्वाचन र उम्मेदवार चयन प्रक्रियामा अविश्वास बढ्दै जाँदा आज संयन्त्रको बैठक बोलाइएको थियो ।
बैठकमा फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचन र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकार छाडेपछि रिक्त मन्त्रालयबारे छलफल हुने तय थियो ।दाहाल-ओलीबीच बुधबार भएको छलफलमा आज (बिहीबार) संयन्त्रको बैठक बस्ने सहमति भए पनि अन्तिम समयमा आएर स्थगित गरिएको हो ।यसअघि गठबन्धन सम्बद्ध अन्य दलले संयन्त्रको बैठक राख्न आग्रह गरे पनि प्रधानमन्त्री दाहालले इच्छा देखाएका थिएनन् ।


