नेपाल पत्रकार महासङ्घले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सवालमा सन् २०२३ सन्तोषजनक नरहेको जनाएको छ । महासङ्घद्वारा आज जारी एक विज्ञप्तिमा यस वर्ष प्रेस स्वतन्त्रता हननसम्बन्धी ५८ घटना अभिलेख भएको उल्लेख छ ।
“विगतका वर्ष मा जस्तै यसवर्ष पनि प्रेस स्वतन्त्रता हननका विभिन्न घटना नेपाल पत्रकार महासङ्घको प्रेस स्वतन्त्रता अनुगमन इकाइमा अभिलेख भएका छन् । यसवर्ष पत्रकारको पेशागत असुरक्षा मुख्य चुनौतिको विषय बनेको छ”, विज्ञप्तिमा भनिएको छ
महासङ्घका अनुसार सन् २०२३ मा अघिल्लो वर्ष सन् २०२२ को तुलनामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटना बढेका छन् । सन् २०२२ मा प्रेस स्वतन्त्रता हननका ५३ वटा घटना रेकर्ड भएका थिए ।
नेपाल पत्रकार महासङ्घले सन् २०२३ मा विभिन्न सञ्चार गृहमा देखिएका श्रम समस्या अर्थात् पेशागत असुरक्षालाई मुख्य चुनौतिको रुपमा लिएको उल्लेख गरेको छ । सञ्चार प्रतिष्ठानमा देखिएका श्रम समस्यालाई महासङ्घले दबाबमूलक आन्दोलन, कानुनी लडाइँ तथा वार्ता र संवादसमेतको माध्यमबाट समाधानको पहल गरिरहेको जनाएको छ ।
महासङ्घले सन् २०२४ मा श्रम समस्याको दीर्घकालीन समाधानका लागि कानुनी व्यवस्थालाई थप बलियो बनाएर त्यसको कार्यान्वयनका लागि पहल गर्ने प्रतिवद्धता जनाएको विज्ञप्तिमा उल्लेख छ ।


