जुम्लाका आठवटै स्थानीय तहका सामुदायिक विद्यालय जाडो बढेसँगै बन्द भएका छन् । जिल्लामा बढेको अत्यधिक चिसोले पुसको पहिलो सातादेखि फागुनसम्म पालिकाका सबै सामुदायिक विद्यालय बन्द गरिएको तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले जानकारी दिनुभयो ।
सामुदायिक विद्यालय बन्द भएपछि कतिपय विद्यार्थी थप अध्ययन गर्नका लागि सदरमुकाम खलङ्गा बजारलगायत सुर्खेत गएका चन्दननाथ माध्यमिक विद्यालय कक्षा ११ मा अध्ययनरत विद्यार्थी विष्णु बुढाले जानकारी दिएका छन् । जाडोले विद्यालय बन्द भएपछि सदरमुकाम खलङ्गा बजारमा कक्षा ११ को अङ्ग्रेजी विषयको ‘ट्युसन’ पढ्ने गरेको पातारासी गाउँपालिका–२ का विद्यार्थी विशाल ऐडीको भनाइ छ ।
आगामी फागुनको १ गतेदेखि विद्यालयमा पढाइ हुने भएको छ । चिसोले यहाँका स्थानीय तहले विद्यालय बन्द गरेपछि जिल्ला बाहिरका शिक्षक घर फर्कन थालेका छन् ।
कर्णाली प्राविधिक शिक्षालयले उच्च हिमाली भेगमा बढेको चिसोले जनजीवन कष्टकर र पठनपाठन गर्न गराउन कठिनाइ भएकाले सम्पूर्ण सङ्कायमा अध्ययनरत विद्यार्थीलाई आजदेखि फागुनको २ गतेसम्म हिउँदे बिदा दिइएको शिक्षालय प्रमुख टेकेन्द्रबहादुर थापाले बताउनु भयो । अहिले जिल्लाको तापक्रमको दिनहुँ ‘माइनस’मा जाने गरेको छ ।


