रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाहीले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजालासले बम्जनलाई थुनामा पठाउन आदेश दिएको हो । अदालतको आदेशपछि बम्जनलाई बिहिबार जिल्ला कारागार महोत्तरी चलान गरिएको छ ।
वादीका तर्फबाट जिल्ला न्यायाधिवक्ता कैलाश दाहाल र प्रतिवादीको तर्फबाट अधिवक्ताहरू डा। कुन्साङ लामा, अजय तामाङ, महनिधि सेढाई, अमृत कुमार लामा र दिलिपकुमार झाले बहस गर्नुभएको थियो ।
बम्जनमाथि विभिन्न जिल्लामा आश्रम सञ्चालन गरी आश्रममा पुगेका अनुयायीहरूमाथि यौन दुर्व्यवहार, बलात्कार, बेपत्ता पारेको र हत्या गरेको आरोप छ । बम्जनको आश्रमबाट आनीहरू सर्लाहीकी रिता बोटे, नुवोकोटकी कर्मा तामाङ र मकवानपुरकी फूलमाया रूम्बा बेपत्ता पारेको मुद्दा छ । बम्जनका दुई अनुयायी बाराका सुरेश आलेमगर र मकवानपुरका सञ्चमान वाइबा सिन्धुलीको आश्रमबाट बेपत्ता भएका छन् ।
बलात्कार र हत्या गरेको आरोपमा बम्जनमाथि सर्लाही जिल्ला अदालतबाट २०७७ असार २१ गते पक्राउ पुर्जी जारी भएको थियो । अदालतले पक्राउ पुर्जी जारी गरेपछि बम्जन फरार भएका थिए । बम्जनलाई प्रहरीले चार वर्षपछि आफ्नै घरबाट अस्ति पक्राउ परेका थियो । पक्राउ परेको दुई दिनपछि बम्जनलाई प्रहरीले जिल्ला अदालत सर्लाहीमा पेस गरेको थियो ।


