नेपालगञ्जबाट कैलाश मानसरोवरसम्मका लागि हिमाली उडान ‘माउण्टेन फ्लाइट’ सुरु भएको छ । विभिन्न पर्यटन व्यवसायसँग सम्बन्धित सङ्घसंस्थाको पहलमा दुई दिनअघि गर्ने भनिएको उडान सोमबार सम्भव भएको हो । अत्यधिक चिसो र बाक्लो हुस्सुका कारण ‘भिजीबिलीटी’ कमहुँदा गत शनिबार उडान भएको थिएन ।
पर्यटन व्यवसायी केशव न्यौपानेले भारतीय पर्यटकसहितको हिमाली उडानले नेपालगञ्जको खस्कँदो व्यवसायलाई राहत मिल्ने र पर्यटनको क्षेत्रमा चिनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाटा), बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले उडानको सफलतासँगै आर्थिकरूपमा नेपालगञ्जको भविष्य जोडिएको छ ।
कैलाश पर्वत घुम्नका लागि यो एउटा महत्त्वपूर्ण अवसर हो । होटल व्यवसायी पुनम भुसालले भने “यसले हाम्रो पर्यटन उद्योगलाई फस्टाउन सहयोग गर्ने छ । ” पहिलो दिन मानसरोवर गएर बसेर भोलिपल्ट कैलाशको दर्शन गर्न सकिने बताइएको छ ।


