कन्चनपुरमा पक्राउ परेका दुई पत्रकारलाई रिहाइ नगरे आन्दोलन गर्ने पत्रकार महासंघ सहित विभिन्न पेसागत संघ संगठनले माग गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय कन्चनपुरले आज नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाका सदस्य ऐश्वर्या कुँवर र माउन्टेन टेलिभिजनका कञ्चनपुर समाचारदाता पुष्कर भट्टलाई पक्राउ गरेको थियो ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा कन्चनपुरले एक प्रेस विज्ञप्ती जारी गर्दै उनीहरुको रिहाइको माग गरेको हो ।

सचिव राजेन्द्र प्रशाद अवस्थीद्धारा जारी प्रेस विज्ञप्तीमा प्रहरीले विद्युतिय कारोवार ऐन, २०६३ को दफा ४७ को दुरुपयोग गरि (विद्युतिय कारोवार कसुर) अर्न्तगत मुद्दा चलाई पक्राउ गरिएकोप्रति नेपाल पत्रकार महासंघ कञ्चनपुरको गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ ।
एउटा प्रयोजनका लागि आएको कानुनको अर्कै प्रयोजनमा प्रयोग गरि पत्रकारलाई पक्राउ गरिएकोले पत्रकारद्वयको तुरुन्त रिहाई गर्न माग गरिएको छ । माग सम्बोधन नगरिएमा नेपाल पत्रकार महासंघ चरणवद्ध आन्दोलनमा जाने ज्ञापन पत्रमा उल्लेख छ ।

यता जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कमल थापा र मुद्दा फाटको जिम्मेवारी सम्हालिरहेकी प्रहरी निरीक्षक बिनु शाहीविरुद्ध भट्ट र कुँवरले व्यक्तिगत रूपमै मान मर्दन हुने गरी स्टाटस लेखेको भन्दै पक्राउ गरेको जनाएको छ । सामाजिक सञ्जालमा व्यक्तिगत चरित्र हत्या हुने गरी स्टाटस लेखेको उजुरी आएपछि पक्राउ पुर्जी लिएर दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले जानकारी दिएका छन् ।
प्रेस युनियन, प्रेस चौतारी र प्रेस सेन्टरले पनि विज्ञप्ती जारी गर्दै उनीहरुको रिहाईको माग गरेको छ ।
तपाईको प्रतिक्रिया


