काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भएको खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको छ। पोखराले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १६.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो। यसअघि सुदूरपश्चिम लुम्बिनी लायन्ससँग पराजित भएको थियो।
सुदूरपश्चिमको जितमा कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ५१ रन बनाए। उनले ३६ बलमा ४ चौका र २ छक्का प्रहार गरे। त्यस्तै, इशान पाण्डेले ३१ बलमा २ चौका र २ छक्काको मद्दतमा ३७ रनको योगदान दिए।
ब्रान्डन म्याकमुलेनले १२ बलमा २२ रन बनाए भने सैफ जैबले १५ रन जोडे। सर्फेन रदरफोर्ड ८ रनमा अविजित रहे। पोखराका धनञ्जय लक्षण, महेदी हसन र शाकिब अल हसनले समान एक विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४५ रन बनाएको थियो।
पोखराका लागि अर्जुन घर्तीले सर्वाधिक ४० रन बनाए। उनले २५ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै अविजित रहे। महेदी हसनले २१ बलमा ३२ रन बनाउँदा कप्तान कुशल भुर्तेलले १७ बलमा २१ रन जोडे।
त्यस्तै, शाकिब अल हसनले १६ बलमा १४ रन तथा धनञ्जय लक्षणले १६ बलमा ११ रन बनाए। सदीरा समरविक्रमा ८ रनमा आउट भए।
सुदूरपश्चिमका बलर अनिल खरेलले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए। उनले ३ ओभरमा २३ रन खर्चिए। स्कट कुगेलाइन, दीपेन्द्रसिंह ऐरी र हेमन्त धामीले समान एक विकेट लिए।
यस जितसँगै सुदूरपश्चिम रोयल्सले एनपीएलमा आफ्नो जितको खाता खोलेको छ।


