कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगञ्जको जिन्सी शाखाका हवल्दार विमल थापालाई प्रहरीले निलम्बन गरेको छ । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगञ्जका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुशीलसिंह राठौरले थापालाई निलम्बन गरेको हो । नियमविपरित हतियार जिम्मा दिएको भेटिएपछि थापालाई निलम्बन गरिएको कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रले जनाएको छ।
उक्त बन्दुकको प्रयोगले दाङको घोराहीस्थित दामोदर चोकमा प्रहरीका सहायक हवल्दार यमबहादुर झाँक्रीले ड्युटीमा खटिरहेको महिला प्रहरी जवान धनमाया थापाको गोली हानेर हत्या गरेका थिए । धनमाया यमबहादुरको पत्नी हुन् ।
सहायक हवल्दार झाँक्री कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगञ्जमा कार्यरत छन् । यमबहादुरले हत्या गर्ने ‘योजना’ बनाएर नै तालिम केन्द्रबाट पेस्तोल लगेको भेटिएको छ । प्रहरी सहायक निरीक्षक ‘असई’ भन्दा तलका प्रहरीले पेस्तोल बोक्न पाउँदैनन् । तर, यमबहादुरले जिन्सीमा कार्यरत हवल्दारलाई फकाएर पेस्तोल लगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।
फागुन ३ मा साँझ यमबहादुर झाँक्रीले पत्नीलाई ३ राउण्ड गोली प्रहार गरेका थिए । हत्या आरोपी जुडो प्रशिक्षक पनि हुन् । धनमाया र यमबहादुरको नाबालक छोरी छिन् ।


