नेपाल वायु सेवा निगमले सुर्खेतबाटै माथिल्ला जिल्लाहरुमा नियमित हवाई सेवाको सुरू गरेको छ।
झण्डै ३८ वर्षपछि अब फेरि निगमले सुर्खेत र हिमाली जिल्लाहरूमा सिधा उडान सुरू गर्न प्रक्रिया थालेको छ। यसको सुरूआत हुम्लाबाट गरिँदै छ। नेपालएयरलाइन्सले सम्भवतः फागुन दोस्रो साताको सोमबारदेखि सुर्खेत–हुम्ला परीक्षण उडान गर्ने भएको छ।
सुर्खेत कर्णाली प्रदेशको राजधानी भए पनि हिमाली जिल्लामा जान र आउन भरपर्दो हवाई सेवा नहुदा कर्णालीका हिमाली जिल्लामा हुने उडानहरू नेपालगञ्जलाई मुख्य बेस बनाएर गरिन्छ।
छोटो समयमै प्रदेश राजधानी पुग्नुपरे हिमाली जिल्लाका मानिसहरूलाई नेपालगञ्जबाट तीन घण्टा दूरीको गाडी यात्रा गर्न बाध्य पर्छ।
अहिले सुर्खेतबाट डोल्पा, जुम्ला, मुगु, हुम्लामा केही जहाज उड्ने भए पनि उनीहरू फाइदा हेरेरमात्र उड्ने भएकाले नियमित हुन सकेको छैन।
२०३८ देखि २०४२ सालसम्म सुर्खेतबाटै कर्णालीका अरू हिमाली जिल्लाहरूमा उडान गरिरहेको नेपाल वायु सेवा निगमले पनि त्यसयता नेपालगञ्जलाई नै बेस बनाएको थियो। हुम्ला अहिलेसम्म राष्ट्रिय सडक सञ्जालमा नजोडिएको नेपालको एक मात्र जिल्ला हो।
कर्णाली प्रदेश सरकारले गरेको बारम्बारको आग्रहपछि नेपालएयरलाइन्स सुर्खेत–हुम्ला उडान गर्न सहमत भएको छ । अहिले केही विषयको अध्ययन गरेर प्रतिवेदन बुझाइसकेको र कुनैकुनै विषयमा थप अध्ययन भइरहेको निगमका प्रवक्ता तथा इञ्जिनियरिङ मर्मत विभागका व्यवस्थापक देवेन्द्र पुनले जानकारी दिएका छन् ।


