बेलबारी चिसाङ साझेदारी जङ्गलको बिचबाट ७० वर्षीय जामुनलाल झाँगडलाई उद्धार गरिएको छ ।
आफ्नै छोराबुहारीले जङ्गलमा छोडेको मोरङको बेलबारी ७ का झाँगडलाई उद्धार गरिएको हो । उनलाई सब डिभिजन वन कार्यालय सलकपुरका गणेश कार्की, राजेन्द्र घिमिरे, बेलबारी चिसाङ साझेदारीको कमान्डर मुरारी काफ्ले तथा बेलबारी नगरपालिकाका सन्तोष विकसहितको टोलीले उद्धार गरेको हो । बेलबारी चिसाङ साझेदारीको गस्ती टोलीले मंगलबार बिहान वृद्धलाई भेटेर उद्धार गरेको हो ।
चार दिन अगाडि छोराबुहारीले मोटरसाइकलमा हालेर बेछोडेको उनले बताएका छन् । उनले चारदिन जङ्गलमै रात कटाएका छन्। उद्धारपछि उनलाई बेलबारी नगर अस्पतालमा उपचार गराइरहेको वन समितिका अध्यक्ष दिनेश गिरीले बताएका छन् ।
इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक तेजबहादुर दाहालका अनुसार वृद्धका परिवारको खोजी भइरहेको छ । सेतै फुलेका दाह्री र कपाल रहेका वृद्ध पातलो टिसर्ट र हाफपाइन्टमा फेला परेका थिए । उनले चार दिनदेखि पानी मात्र पिएर बसेको बताएका छन् ।


