मध्य भोटेकोशी जलविद्युत आयोजना एक महिनाभित्र सञ्चालनमा आउने भएको छ।
नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युतबाट एक महिनाभित्र विद्युत उत्पादन गर्ने गरी अन्तिम चरणका कामहरू भइरहेको आयोजनाले जनाएको छ।
बाह्रबिसे नगरपालिका–५ स्थिति आयोजनाको विद्युत गृहको स्विचयार्डबाट सोही नगरपालिका–३ स्थित प्राधिकरणको बाह्रबिसे सबस्टेसन जोड्ने करिब चार किलोमिटर प्रसारण लाइनमध्ये दुई किलोमिटर लाइन निर्माणमा स्थानीयसँग सहमति जुटेपछि अहिले तार तान्ने काम भइरहेको हो। २२० केभी सिङ्गल सर्किट प्रसारण लाइनको तार तान्ने काम दसैं अगाडि सकिने आयोजनाले जनाएको छ।
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्का, राज्यमन्त्री पूर्णबहादुर तामाङ, सिन्धुपाल्चोका–२ का संघीय सांसद मोहनबहादुर बस्नेत, मन्त्रालयका सहसचिव सन्दीपकुमार देव, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बाह्रबिसे नगरपालिका प्रमुख बालकृष्ण बस्नेत तथा वडाध्यक्षहरू, सहायक प्रमुख जिल्ला अधिकारी, उद्योग वाणिज्य संघका अध्यक्ष र आयोजनाबीच गत भदौ १३ गते भएको छलफलमा करिब १४ महिनादेखि अवरोध रहेको प्रसारण लाइन निर्माणमा सहमति जुटेको थियो।
यो आयोजनाबाट विद्युत उत्पादन सुरू भएपछि सोही विद्युत प्रयोग गरी प्राधिकरणले निर्माण गरेको बाह्रबिसे सबस्टेसनलाई चार्ज गरिने छ। २२०–१३२ केभीको बाह्रबिसे सबस्टेसन निर्माण सकिइसकेको छ। यो आयोजनाको विद्युत प्रवाहका लागि अस्थायी वैकल्पिक व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ। २०० केभी प्रसारण लाइनबाट बाह्रबिसे सबस्टेसनमा पुगेको विद्युतलाई सोही सबस्टेसनमार्फत १३२ केभीमा झारेर १३२ केभी प्रसारण लाइनबाट प्रवाह गरिने छ।
यसका लागि २२ मेगावाटको माथिल्लो चाकु ए जलविद्युत आयोजनाको प्रवर्द्धक कम्पनी शिवश्री हाइड्रोपावरले निर्माण गरेको १३२ केभी प्रसारण लाइनलाई बाह्रबिसे सबस्टेसनमा लैजाने काम कम्पनीले अहिले गरिरहेको छ।
प्राधिकरणले आयोजनाको विद्युत हिउँद र वर्षायाममा प्रतियुनिट क्रमशः आठ रूपैयाँ ४० पैसा र चार रूपैया ८० पैसामा किन्नेछ। यसबाट कम्पनीलाई वार्षिक दुई अर्ब ८० करोड रूपैयाँ आम्दानी हुनेछ।


