काठमाडौं ,कार्तिक २
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ पर्नु भएको छ ।सहकारी ठगी प्रकरणमा लामिछानेलाई आज साँझ पार्टी कार्यालय बालाजुबाट प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नुअघि पार्टी कार्यालयमा उपस्थित कार्यकर्ता र सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सभापति लामिछानेले आफूले कुनै अपराध नगरेको र न्यायिक प्रक्रियालाई सघाउने बताउनुभयो ।उहाँले आफूलाई पक्राउ गरेको घटनालाई देशको आशा र भरोसामाथि प्रहार भएका रुपमा लिएको जिकिर गर्नुभयो ।
आज कास्की जिल्ला अदालतले लामिछानेलाई पक्राउ गर्न अनुमति दिएको थियो ।पक्राउ पर्दा रास्वपाका कार्यकर्ताहरुले नाराबाजी गरेका थिए ।
सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।


