स्वास्थ्य बिमा क्षेत्र सुधार गर्न गठित सुधार समितिले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललाई प्रतिवेदन हस्तान्तरण गरेको छ ।
मन्त्रालयमा आयोजित प्रतिवेदन हस्तान्तरण कार्यक्रममा स्वास्थ्यमन्त्री पौडेलले प्रतिवेदनले सुझाव दिएका बुँदाहरु कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “बिमा क्षेत्रमा सुधार गर्ने हुटहुटी छ । यो प्रतिवेदनले स्वास्थ्य बिमा सुधार गर्नुपर्ने योजना र विषयवस्तु समेटेको छ । प्रतिवेदन अध्ययन गरेर यसलाई लागू गर्नेछौँ ।”
असोज ९ गते वरिष्ठ जनस्वास्थ्यविज्ञ डा शम्भुप्रसाद आचार्यको संयोजकत्वमा मन्त्री पौडेलले स्वास्थ्य बिमा सुधार गर्न नौ सदस्यीय समिति गठन गर्नुभएको थियो । प्रतिवेदनका संयोजक आचार्यले प्रतिवेदनले स्वास्थ्य बिमा देखिएका अवसर र चुनौती केलाइएको प्रतिक्रिया दिनुभयो ।
समितिमा गण्डकी प्रदेशका नीति तथा योजना आयोगका पूर्वउपाध्यक्ष डा रघुराज काफ्ले, वरिष्ठ मुटु शल्यचिकित्सक प्रा डा भगवान् कोइरालासहित अर्थ मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र राष्ट्रिय योजना आयोगका सहसचिव सदस्य रहेका छन् ।
त्यसैगरी स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक, मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख तथा निजी क्षेत्रका प्रतिनिधिलाई समिति सदस्य तोकिएको थियो ।


