काठमाडौँदेखि कुलेखानी हुँदै हेटौँडा पुग्ने सडक निर्माणमा चरम लापरबाही र ढिलाइ हुँदा काठमाडौँ र मकवानपुरका दुई पालिकाका नागरिक सास्ती भोग्न बाध्य छन् ।
छ वर्षअघि काम सुरु गरे पनि सडक निर्माण र कालोपत्रे गर्ने कार्य सम्पन्न नहुँदा काठमाडौँको दक्षिणकाली नगरपालिका र मकवानपुरको इन्द्रसरोवर गाउँपालिकासहित अन्य पालिकाका नागरिक धुलोको प्रताडना भोग्न बाध्य भएका हुन् ।
सडक निर्माणमा विलम्ब हुँदा वर्षायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गरेको छ । तराई मधेशबाट हेटौँडा हुँदै काठमाडौँ आउने सबैभन्दा छोटो सडक बाढीपहिरोले बगाउँदा दैनिक यात्रा गर्ने झन्डै पाँच सय वटा सवारीसाधनका यात्रुको बेहाल हुने गरेको छ । हेटौँडा हुँदै तराई मधेश जाने नेपाली र पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भारतीय तीर्थयात्री जोखिम मोलेर यात्रा गरिरहेका छन् ।
स्थानीयवासीका अनुसार सडकमार्ग क्षतविक्षत हुँदा इन्द्रसरोवर गाउँपालिकामा दिनैपिच्छे दुर्घटना हुने गरेको छ ।


