राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत पुष्पलाल (मध्यपहाडी) राजमार्गको निर्माण तीव्र गतिमा अगाडि बढिरहेको छ । मुलुकलाई पूर्व–पश्चिम जोड्ने महेन्द्र राजमार्ग र हुलाकी राजमार्गपछिको यो तेस्रो राजमार्ग हो । मुलुकका मध्यपहाडी जिल्लालाई यातायात सञ्जालमा जोडी त्यस क्षेत्रको आर्थिक, पर्यटकीय र शैक्षिकलगायत समग्र क्षेत्रको सन्तुलित विकास गर्ने उद्देश्यले निर्माण सुरु गरिएको यस राजमार्गको काम अब एक चौथाइ मात्र बाँकी रहेको पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका प्रवक्ता ई. सचिन श्रेष्ठले पूर्वमा पाँचथरको चिवाभन्ज्याङ (नेपाल–भारत सिमाना) देखि पश्चिममा बैतडीको झुलाघाट (महाकाली नदी) सम्म पुग्ने गरी करिब एक हजार ८७९ किलोमिटर लम्बाइको निर्माणाधीन यो राजमार्गको अहिलेसम्मको भौतिक र वित्तीय प्रगति क्रमशः ७८.२३ प्रतिशत र ८३.२३ प्रतिशत पुगेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “राजमार्गको कुल लम्बाइ एक हजार ८७९ मध्ये यस आयोजनाबाट एक हजार एक, अन्य योजना र डिभिजनबाट ४६२ किलोमिटर गरी १४६३ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । बाँकी सडकको ठेक्का व्यवस्थापन हुने क्रममा रहेका छन् ।” त्यसै गरी यस राजमार्ग अन्तर्गत निर्माण गर्नुपर्ने १३७ पुलमध्ये १०७ वटा पुल सम्पन्न भइसकेका छन् भने अहिले २० वटा पुल निर्माणाधीन छन् । १० वटा पुलको ठेक्का व्यवस्थापन हुन बाँकी रहेको निर्देशनालयका प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।
आयोजनाको कुल लागत ८४ अर्ब ३३ करोड रुपियाँ रहेकोमा अहिलेसम्म ६५ अर्ब ९७ करोड रुपियाँ खर्च भइसकेको छ । यस आयोजनाका लागि चालु आर्थिक वर्ष (२०८१/८२) मा तीन अर्ब ५९ करोड रुपियाँ विनियोजन गरिएको छ ।
यसैबिच सरकारले उक्त राजमार्गलाई द्रुत सञ्चारका लागि सूचना महामार्गका रूपमा पनि निर्माणमा तीव्रता दिएको छ । यसका साथै १० वटा आधुनिक सहर पनि यही राजमार्ग अन्तर्गत स्थापना हुँदै छन् । निर्देशनालयका प्रवक्ता श्रेष्ठले यस आयोजनामा अपेक्षित उपलब्धि हासिल गर्न झन्झटिलो रुख कटान प्रक्रिया, निर्माण सामग्री अभाव, विद्युत्का खम्बा, खानेपानीको पाइप, पुरातात्त्विक/ सांस्कृतिक/ धार्मिक महत्वका मठमन्दिरलगायत प्रयोगजन्य सामग्रीको स्थानान्तरण, मुआब्जा तथा क्षतिपूर्ति विवाद, सडक सीमा विवाद र निर्माण व्यवसायीको लापारबाही मुख्य समस्या रहेको बताउनुभयो ।


