सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नयाँ नीति निर्माण मार्फत दूरसञ्चारमा रूपान्तरण ल्याउन मन्त्रालय सक्रिय रहेको बताउनुभएकोछ।
ललितपुरमा बिहीबार टेकपानाले आयोजना गरेको ‘सेपिङ द फिउचर अफ टेलिकम्युनिकेसन्स इनसाइट्स अन पोलिसी एन्ड इनोभेसन’ कार्यक्रममा बोल्दै मन्त्री गुरुङले मन्त्रालयले यो वर्ष भित्र दूरसञ्चारको पुरानो ऐन संशोधन गरेर नयाँ ऐन ल्याउने र रूपान्तरण हुने बताउनु भएको हो।
“मैले यो वर्ष जसरी पनि दूरसञ्चार सम्बन्धी नयाँ विधेयक मस्यौदा गर्छु र सदनमा पुर्याउछु,” उहाँले भन्नुभयो,“नीति र ऐन परिमार्जन नगरी दूरसञ्चारको कार्यशैलीमा रूपान्तरण ल्याउन कठिन छ।”
नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले नीति परिमार्जनसँगै दूरसञ्चारको गति प्रभावकारी बनाउन टेक्नोलोजी जेनेरेसन समेत पच्छ्याउनु पर्ने बताउनुभयो।

त्यस्तै, कार्यक्रममा बोल्दै सञ्चार सचिव राधिका अर्यालले दूरसञ्चार ऐन र नियमावली परिमार्जन गर्ने आवश्यक महसुस गरिएको बताउनुभयो। टेलिकमको सेवालाई परिमार्जन गरेर इनोभेटिवस सर्भिस अपनाउँदा प्रभावकारी हुने धारणा राख्दै सचिव अर्यालले दूरसञ्चार सुध्रिण गर्न सरकार सधैँ तत्पर रहेको बताउनुभयो।
कार्यक्रममा विभिन्न सत्रमा प्रविधिको विषयमा छलफल भएको थियो।


