सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले यो वर्ष दोस्रो चरणको डिजिटल नेपाल फ्रेमवर्क-२ लागु हुने बताउनुभएको छ ।
राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिद्वारा आयोजित बैठकमा मन्त्री गुरुङले डिजिटल नेपाल फ्रेमवर्क-२ (डिएनएफ-२) को मस्यौदा तयारी भइसकेको र मन्त्रालयले छिट्टै कार्यान्व्यन स्वीकृतिका लागि मन्त्रीपरिषदमा पेस गर्ने जानकारी दिनुभएको हो ।
समितिले सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयले डिजिटल गभर्नेन्स अवलम्बन गर्ने सम्बन्धमा नेपाल सरकार, सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयबाट भएका काम कारबाही एवम् कार्ययोजना-तयारी बारेमा छलफल गर्न बैठक राखेको थियो । उक्त बैठकमा मन्त्री गुरुङका अनुसार सरकारले २०७६ मा पहिलो चरणको डिजिटल फ्रेमवर्कले ८ मुख्य डोमेन र ८० वटा इनिसिएटिभ्स सहितको फ्रेमवर्क तयार पारेको थियो ।
दोस्रो चरणको डिजिटल फ्रेमवर्क समयसापेक्ष र बृहत्तर रहेको मन्त्री गुरुङले जानकारी दिनुभयो । फ्रेमवर्कमा रहेका ८ वटा डोमेनहरूमा कृषि, स्वास्थ्य, शिक्षा, अर्बान इन्फास्ट्रक्चर, ऊर्जा, टुरिजम, फाइनान्स र डिजिटल फाउन्डेसन छन् । देशको आर्थिक रूपान्तरण र समृद्धिका लागि महत्त्वपूर्ण अवधारणाका रूपमा अघि सारिएको डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनका लागि १ खर्ब ७ अर्ब ५० करोड बजेट अनुमान गरिएको छ ।
जसमा हालसम्म राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी गरी कार्यान्वयनमा रहेको, डाटा सेन्टर तथा क्लाउड सेवा निर्देशिका (सञ्चालन तथा व्यवस्थापन), २०८१ जारी गरी कार्यान्व्यनमा ल्याएको, सरकारी कार्यालयको वेबसाइट निर्माण तथा व्यवस्थापनसम्बन्धी निर्देशिका जारी गरी कार्यान्वयनमा ल्याएको, सूचना प्रविधि आकस्मिक सहायता समूह सञ्चालन तथा व्यवस्थापन निर्देशिका कार्यान्वयनमा रहेको लगायत विषय कानुन निर्माण कार्य भइरहेको सचिव अर्यालले बताउनुभयो ।


