काठमाडौं , असोज ०३
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जेनजी आन्दोलनपछि संसद् विघटन, संविधान खारेज र राष्ट्रपतिलाई हटाउने प्रयास भएको खुलासा गरेका छन् ।संविधान दिवसका अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा भएको कार्यक्रममा उनले यस्तो खुलासा गरेका हुन् ।
‘इतिहासले, घटनाक्रमले र संयोगले मलाई फेरि यो प्रक्रियामा पनि कुनै न कुनै रूपले सहजीकरण गर्ने अवसर दियो’, प्रचण्डले भने, ‘संसद् विघटन मात्रै होइन संविधान खारेज गर्ने र राष्ट्रपतिलाई त्यो पदबाट हटाउन के कस्ता कसरत भयो भन्ने मैले नजिकबाट हेर्ने र बुझ्ने मौका पाएँ ।’
उनले आफूले समस्याको सहजीकरणका लागि रातभर बसेर राष्ट्रपति रामचन्द्र पौडेलसहित सेनापति र अन्य दलका नेताहरुसँग संवाद गरेर अन्तरिम सरकार बनाएर संविधान बचाउन भूमिका खेलेको बताए ।उनले राष्ट्रपति पौडेल निकै अप्ठ्यारो परिस्थितिमा संविधानलाई बचाउन सफल भएको भन्दै बधाई समेत दिए ।

यस्तै नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्यमान संविधानलाई संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्न सकिने बताएका छन् ।
त्यसबेला नै प्रत्यक्ष निर्वाचित राष्ट्रपति कार्यकारीको व्यवस्था हुनुपर्ने लगायतका विषयम आफूहरुले फरक मत राखेको बताउँदै प्रचण्डले अहिले जेनजी आन्दोलनले त्यसलाई पुष्टि गरिदिएको बताएका छन् ।
त्यसबेलाका ठूला भनिकए (कांग्रेस-एमाले)ले अहिले जेनजीले उठाएका विषयलाई संविधानमार्फत सम्बोधन हुन नदिएको दाबी गर्दै प्रचण्डले अहिले जेनजी आन्दोलनले आधार तय गरेको बताए ।


