काठमाडौं , असोज २५
नेपाल प्रहरीमा पहिलोपटक दलित समुदायबाट विशिष्ट श्रेणीमा पुगेर डम्बरबहादुर विकले इतिहास बनाएका छन् । उनी प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा भएका हुन् । बिहीबारको मन्त्रिपरिषद् बैठकले एआइजीमा बढुवा गरेको विकसहित चारजनालाई शुक्रबार दज्र्यानी चिह्न लगाएर नयाँ जिम्मेवारीमा खटाइएको छ ।
प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी अतिरिक्त महानिरीक्षकहरूमा सुशिल सिंह राठौर, उमा प्रसाद चतुरबेदी, हिमालय कुमार श्रेष्ठ र डम्बर बहादुर बिक रहनुभएको छ ।
०५३ मा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भई ०५८ मा नेपाल प्रहरीमा स्थानान्तरण भएका डम्बर विक डिआइजीमा दोस्रो तथा एआइजीमा पुग्ने दलित समुदायका पहिलो व्यक्ति हुन् । यसअघि ०२२ सालमा इन्स्पेक्टरमा भर्ना भएका पदमकुमार नेपालीले डिआइजीबाट अवकाश पाएका थिए ।


