काठमाडौं , माघ ०४ – सुमन साय्मि कालीमाटी निवासी जीवन मानन्धरका जेठा छोरा हुन्। जीवन मानन्धर ‘जीवन दाइ’ नामले काठमाडौंका अधिकांश राजनीतिक र सामाजिक वृत्तमा परिचित थिए। कालीमाटीमा रहेको उनको मिठाइ पसल ‘स्वीट केभ’ आज पनि चलेका पुराना पसलहरूमध्ये पर्छ। त्यो पसल केवल व्यापारको केन्द्र थिएन, बरु राजनीतिक छलफल, योजना निर्माण र सामाजिक सेवाका कार्यक्रमहरू तय हुने एउटा अनौपचारिक थलो थियो।
जीवन दाइको उदार स्वभाव, राजनीतिक नेताहरूलाई संरक्षण, साथ–सहयोग र संकटमा परेका बेला जे पनि गर्न तत्पर रहने बानीले धेरैलाई चकित पार्थ्यो। कतिपयले नेताहरूका लागि यति धेरै नगर्न सुझाव दिँदा पनि, एकपटक निर्णय लिएपछि कसैको कुरा नसुनी अघि बढ्ने उनको स्वभाव थियो।
०४६ सालको कठिन राजनीतिक कालखण्डमा समेत उनले जोखिम मोलेर कालीमाटीको व्यस्त बजारस्थित आफ्नै घरमा आजका शीर्ष नेताहरूलाई सेल्टर दिएका थिए। अर्धभूमिगत आन्दोलनका बेला केन्द्रीय समितिको बैठक सञ्चालन गर्नसमेत उनले सहयोग गरे। कम्युनिस्ट आन्दोलनका लागि उनले गरेको योगदान व्यापक थियो।
जीवन दाइका इन्जिनियर भाइ विद्युत कर्पोरेसनमा जागिर हुँदा ‘केही भनसुन गरिदिनुस्’ भन्ने आग्रहमा उनले स्पष्ट जवाफ दिएका थिए— “म कसैलाई भनसुन गर्दिन, आफ्नै बलबुताले गर्नुपर्छ।” पार्टीका लागि धेरै गरे, तर कहिल्यै व्यक्तिगत लाभको अपेक्षा राखेनन्।
२०५४ सालमा पार्टी फुटको घोषणा हुँदा जीवन दाइ भावुक भएर आँसु झारेका थिए। पार्टी फुटेको खबर सुनाउँदा आफूले जीवन दाइलाई रुवाएको भन्दै उनका मित्र जनज्योति श्रेष्ठले सामाजिक सञ्जालमा आत्मग्लानी व्यक्त गरेका संस्मरणहरू अझै चर्चामा छन्।
बुवाको पदचापमा सुमन
जीवन दाइसँगै राजनीतिमा होमिएका धेरै व्यक्ति उच्च पद र अवसरमा पुगे। तर त्याग, इमान, धैर्य र समर्पणले भरिएका जीवन दाइ पदमा नपुगे पनि काठमाडौंबासीको मन र स्मृतिमा आज पनि जीवित छन्। उनै जीवन दाइका छोरा सुमन साय्मि आज बुवाको राजनीतिक पदचाप पछ्याइरहेका छन्।
सन् २००१ मा बालाजु सडक विस्तारको विरोधका क्रममा सुमन साय्मि पक्राउ परे। प्रहरी हिरासतमा नेपालभाषा बोलेको आरोपमा उनीमाथि दुर्व्यवहार भयो। मातृभाषामा कुरा गरेको निहुँमा अपराधीसरह हतकडी लगाइयो, जुन उनले पटक–पटक भोग्नुपर्यो।
कहिले गैरन्यायिक सडक विस्तार संघर्ष समितिका संयोजक, कहिले खोला मापदण्ड पीडित, गुठी र भूमि पीडितको पक्षमा उभिँदा उनले थुप्रैपटक प्रहरी हिरासतको अनुभव गरे। विडम्बनाको कुरा, बुवाले कहिल्यै सेल्टर दिएको सरकारकै नेतृत्व (केपी शर्मा ओली नेतृत्वको सरकार) ले सुमन र उनका सहकर्मीमाथि गरेको दमन निन्दनीय थियो—छ, र रहनेछ।
पछिल्लो राजनीतिक यात्रा
-
स्थानीय तह निर्वाचन २०७९ मा सुमन साय्मि काठमाडौं महानगरपालिकाको मेयर पदमा बालेन शाहसँग प्रतिस्पर्धामा उत्रिए। उनले १३,७७० मत प्राप्त गरे।
-
प्रतिनिधिसभा निर्वाचन (दोस्रो चरण) मा काठमाडौं क्षेत्र नं. ८ बाट उम्मेदवार बने। राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठसँग पराजित भए।
-
विराजभक्त श्रेष्ठ: १०,११२ मत
-
सुमन साय्मि: ६,१७९ मत
-
एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ: ४,८८१ मत
-
-
राष्ट्रिय मुक्ति पार्टी नेपालको वरिष्ठ उपाध्यक्ष तथा नेवाः राष्ट्रिय परिषद्का अध्यक्षका रूपमा भूमि पीडितको पक्षमा सशक्त आन्दोलनको नेतृत्व गरे।
-
हाल नेपाली कम्युनिष्ट पार्टीसँग एकता समायोजन कार्यक्रममार्फत, आफ्नो नेतृत्वमा रामुपाका प्रवक्ता रविन्द्र श्रेष्ठसहित सयौं नेता–कार्यकर्तालाई नयाँ पार्टीमा प्रवेश गराएका छन्।
-
जेन–जी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले घोषणा गरेको २०८२ फागुन २१ गतेको आमनिर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीबाट काठमाडौं क्षेत्र नं. ८ मा प्रतिनिधिसभा उम्मेदवारी घोषणा गरेका छन्।
सुमन साय्मि राजनीतिमा किन आए ?
सुरुमा फोहोरी राजनीतिबाट आजित भएर टाढा बसेका सुमन, पछि बुवाको राजनीतिक विरासत बुझेपछि प्रभावित भए। “हामीले नगरे कसले गर्छ ? अहिले नगरे कहिले गर्ने ? राजधानीबासीको राजनीतिक चेत कहिले जाग्ने ?”—यी प्रश्नको उत्तर खोज्दै उनी राष्ट्रिय राजनीतिमा होमिए।
पहिले नेता चुन्ने र पछि काम खोज्ने प्रवृत्तिलाई उल्ट्याउँदै, नागरिकको आवाज बोल्ने नेतालाई सत्तामा पुर्याउने लक्ष्यका साथ राजनीतिमा आएको उनको दाबी छ। बहुल राष्ट्रियताको स्वीकार्यता, स्वदेशवादको दर्शन, उच्च नैतिकता, स्वमूल्य र स्वभूमिको रक्षा उनका राजनीतिक आधार हुन्।
केवल आन्दोलन र विरोधले दीर्घकालीन समाधान नआउने निष्कर्षसहित, नीति निर्माण तहसम्म पुग्नुपर्ने आवश्यकता देखेर सुमन राष्ट्रिय राजनीतिमा सक्रिय भएका हुन्। संस्कृति, सम्पदा, शहर र सभ्यताका मुद्दा नीति तहमा स्थापित गर्न उनी प्रतिबद्ध छन्।
दशकभन्दा बढी समयदेखि नागरिक पीडामा मल्हम लगाउँदै आएका सुमन साय्मि मुद्दाको राजनीति मा विश्वास गर्ने नेता हुन्।
✍️ अभियन्ताबाट राष्ट्रिय राजनीति सुरू गरेका नेपाली कम्युनिष्ट पार्टीका नेता सुमन साय्मिसँग गरिएको अन्तरक्रियाका आधारमा सञ्चारकर्मी केके मानन्धरद्वारा तयार पारिएको लेख।


