बैतडी — बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १३ जना पुगेको छ। उपचारका क्रममा घाइतेमध्ये थप पाँच जनाको डडेलधुरा अस्पतालमा मृत्यु भएको हो।
मृतकमध्ये बित्थडचिर गाउँपालिका–७ का ४० वर्षीय केशवराज जोशी र उनका १३ वर्षीय छोरा अशोकराज जोशी रहेका छन्। साथै, सोही वडाका ४२ वर्षीय नरेशराज जोशी र ४१ वर्षीय विष्णुदत्त जोशी एकाघरका दाजुभाइ तथा बेहुलाका काका हुन्। २४ वर्षीय वसन्त जोशी बेहुलाका काकाका छोरा अर्थात् नाताले भाइ पर्ने वडा नम्बर ७ का वडाध्यक्ष दिनेशबहादुर अधिकारी ले जानकारी दिए।
त्यस्तै, बझाङको जयपृथ्वी नगरपालिका–७ का ४० वर्षीय वसन्तराज रतला नाताले बेहुलाका भिनाजु हुन्। मृतक सबै २८ वर्षीय बेहुला माधव जोशी का नजिकका काका–भतिज र आफन्त भएकाले सम्पूर्ण वडा नै शोकमा डुबेको वडाध्यक्ष अधिकारीले बताए।
डडेलधुरा अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेहरूमा बित्थडचिर गाउँपालिका–७ का १७ वर्षीय बिसनदत्त जोशी, २८ वर्षीय दीपकराज जोशी, ४६ वर्षीय किसनदत्त जोशी, केदारस्युँ गाउँपालिका–७ का २७ वर्षीय केशवराज भट्ट र पुर्चौडी नगरपालिका–७ की १४ वर्षीया सुशील जोशी रहेका छन्।
यसैगरी, पुर्चौडी नगरपालिका–७ की ४० वर्षीया पुष्पा अवस्थी र केदारस्युँ गाउँपालिका का ६० वर्षीय मोहनदेव भट्ट को पनि दुर्घटनामा मृत्यु भएको छ।
घटनास्थलमै पुगेका वडाध्यक्ष अधिकारीले भने,
“यहाँको अवस्था निकै भयावह छ। गाउँ नै शोकमा डुबेको छ। बिहान जन्ती गएका उनीहरू बेहुली लिएर फर्किने क्रममा दुलहीको माइतीबाट एक किलोमिटर पनि नपुग्दै दुर्घटनामा परेका हुन्।”
दुर्घटनाका बेला बेहुला र बेहुली भने छुट्टाछुट्टै गाडीमा सवार थिए। दुर्घटनापछि फरार रहेका कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखाल का ४२ वर्षीय बस चालक वीरेन्द्र बुढा लाई प्रहरीले मध्यरात नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारण भने हालसम्म खुल्न सकेको छैन।
बैतडीका प्रहरी प्रमुख डिएसपी दीपककुमार राय का अनुसार मृतक सबैको सनाखत भइसकेको छ भने ३४ जना घाइतेको उपचार भइरहेको छ। बसमा सवार १८ महिला र २७ पुरुष गरी ४५ जनाको उद्धार गरिएको थियो। गम्भीर घाइते केहीलाई थप उपचारका लागि डडेलधुरा उपक्षेत्रीय अस्पताल रिफर गरिएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बलदेब बडू ले जानकारी दिए।
दुर्घटना बिहीबार बेलुका साढे ७ बजे, पुर्चौडी नगरपालिका–७ भौनी बाट बेहुली लिएर घर फर्किने क्रममा सोही वडाको बढगाउँ मोड बाट सु.प्र ०२–००१ ख १११९ नम्बरको बस झण्डै १०० मिटर तल खस्दा भएको हो। बस पुर्चौडीबाट बझाङको सुनकुडातर्फ गइरहेको थियो।दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


