काठमाडौं, चैत्र २५ ।गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि स्वीट्जरल्यान्ड का राजदूत डा. डानिएल मैवलीबीच भेटवार्ता भएको छ।
बुधबार गृहमन्त्रालयमा भएको भेटमा मन्त्री गुरुङले नेपालीहरूले अवैध रूपमा आर्जन गरेको रकम स्वीस बैंकमा राखिएको छ कि छैन भन्ने विषयमा अनुसन्धान गर्न सहयोग माग गरेका छन्।
भ्रष्टाचारसम्बन्धी अनुसन्धानमा सहकार्यको प्रस्ताव
गृहमन्त्री गुरुङले उच्च पदस्थ व्यक्तिहरूले भ्रष्टाचारबाट आर्जन गरेको रकम विदेशमा राखेको आशंका रहेको भन्दै त्यसबारे संयुक्त अनुसन्धान गर्न आवश्यक रहेको बताएका छन्।
उनले स्वीस बैंकमा रकम रहेको पुष्टि भए नेपाल सरकारको अनुरोधमा उक्त रकम फिर्ता ल्याउने व्यवस्था मिलाउन पनि आग्रह गरेका छन्।
आप्रवासन र द्विपक्षीय सहकार्य
भेटका क्रममा राजदूत डा. डानिएलले आप्रवासनसम्बन्धी विषयमा दुई देशबीच सहकार्य बढाउने प्रस्ताव राखिन्।
मन्त्री गुरुङले उक्त विषय अहिले छलफलमा रहेको जानकारी दिएका छन्।
विपद् व्यवस्थापनमा सहयोग
राजदूतले नेपालमा जलवायु परिवर्तन र विपद् जोखिम न्यूनीकरणका लागि पूर्वचेतावनी प्रणाली सुदृढ बनाउन स्वीस सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाइन्।
सम्बन्ध अझ सुदृढ बनाउने सहमति
दुवै पक्षले नेपाल–स्वीट्जरल्यान्डबीचको ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ बनाउँदै सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।


