काठमाडौँ : तीन दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको गल्छी-मलेखु खण्ड सञ्चालनमा आएको छ।
राजमार्गको विभिन्न स्थानमा थुप्रिएको लेदो र पहिरो पन्छाएपछि शुक्रवारदेखि सवारी आवागमन पुनः शुरु भएको हो। सडक विभागका उपमहानिर्देशक अर्जुन अर्यालकाअनुसार राजमार्गको गलौँदी, बाङ्गे, पोखरे, जरेखेत र बैरेनी लगायतका क्षेत्रमा ३ देखि ४ मिटरसम्म अग्लो लेदो र डेब्रिज थुप्रिएको थियो। यसका कारण गजुरीदेखि बैरेनीसम्मको सडक खण्ड पूर्णरूपमा ठप्प बनेको थियो। उप महानिर्देशक अर्यालले यस पटकको प्राकृतिक प्रकोप र पहिरोको प्रकृति विगतको तुलनामा भिन्न र चुनौतीपूर्ण रहेको बताए।
‘सामान्यतया सडक अवरुद्ध भएको २ देखि ४ घण्टाभित्र खुलाउने हाम्रो अनुभव र कार्यतालिका हुने गर्थ्यो तर, यसपटक सडकमा जम्मा भएको पाङ्गो माटो बाहिरबाट हेर्दा ठोस देखिए पनि मेसिनले चलाउनासाथ लेदोमा परिणत हुने प्रकृतिको थियो’, उनले भने,‘बस्तीका कारण निकासको अभाव र मेसिनरी उपकरण पुर्याउन देखिएको कठिनाइका बाबजुद तीन दिनको निरन्तर प्रयासपछि सडक खुलाउन सफल भएका छौँ।’
सडक खुलाउन निर्माण व्यवसायी, सुरक्षा निकाय, स्थानीय सरकार र सर्वसाधारणले संयुक्त रूपमा श्रम र साधन परिचालन गरेका थिए। सुरक्षा संवेदनशीलता र मौसमसम्बन्धी प्रतिकुल सूचनाका कारण बीचमा केही घण्टा काम स्थगित गर्नुपर्दा सडक सञ्चालनमा केही ढिलाइ भएको विभागले जनाएको छ।
हाल पहिलो चरणमा राजमार्गमा अलपत्र परेका र अत्यावश्यक सवारीसाधनलाई प्राथमिकताका साथ गन्तव्यतर्फ पठाइएको छ। सडक विभागले अझै पनि जोखिम कायमै रहन सक्ने भन्दै आम सर्वसाधारणलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरेको छ।


