काठमाडौं । कमलसिंह ऐरीको उत्कृष्ट बलिङसँगै चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा विजयी सुरुआत गरेको छ। मंगलबार सम्पन्न खेलमा चितवनले विराटनगर किङ्सलाई ८ रनले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो। जितसँगै चितवनले २ अंक जोडेको छ।
चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा सबै विकेट गुमाउँदै १४९ रनमा समेटियो।
विराटनगरका इमरान शेखले सर्वाधिक ३९ रन बनाए। ३१ बलको सामना गरेका उनले ४ चौका र २ छक्का प्रहार गरे। आन्द्रे रसेलले १७ बलमा १ चौका र ३ छक्कासहित ३३ रन बनाए। लोकेश बमले २६ तथा बसीर अहमदले १३ रन बनाए पनि अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन्।
चितवनका कमलसिंह ऐरीले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए। उनले ४ ओभरमा २६ रन खर्चिए। रिजन ढकालले २ विकेट लिँदा टम टेलर, रञ्जित कुमार, मौसम ढकाल र डान मौउस्लेले समान १ विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १५७ रन बनाएको थियो।
चितवनका ओपनर डेभिड मलानले सर्वाधिक ७० रन बनाए। ५० बल खेलेका उनले ५ चौका र ५ छक्का प्रहार गरे। कप्तान रवि बोपाराले अविजित ३२ रन बनाए। २६ बलको सामना गरेका उनले १ चौका र २ छक्का प्रहार गरे। डान मौउस्ले २९ रनमा अविजित रहँदा देव खनालले १२ रनको योगदान दिए।
विराटनगरका एन्जेले म्याथ्यू, आन्द्रे रसेल र चारिथ असलंकाले समान १ विकेट लिए।यस जितसँगै चितवन राइनोजले एनपीएलको नयाँ सिजनमा २ अंकसहित आफ्नो यात्रा सुरु गरेको छ।


