काठमाडौं । नेपाली चलचित्र ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा ५ करोडभन्दा बढी भ्युज प्राप्त गरेको छ। षट्कोण आर्ट्सको आधिकारिक युट्युब च्यानलमा सन् २०२६ मार्च १३ मा सार्वजनिक भएको गीतले करिब सात महिनामै यो सफलता हासिल गरेको हो।
गीतले ५ करोड भ्युज पार गरेपछि अभिनेत्री स्वस्तिमा खड्काले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेकी छन्। उनले तस्बिर सार्वजनिक गर्दै आफ्नो करियरमा गीतहरूको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरेकी छन्।
“नेपालका कतिपय ठाउँमा, जहाँ सायद मेरा फिल्महरू पुग्न सकेनन्, त्यहाँ मेरा गीतहरूले मलाई पुर्याइदिए। मेरो करियरमा गीतहरूको भूमिका एकदमै ठूलो छ,” स्वस्तिमाले लेखेकी छन्।
चलचित्र ‘लालीबजार’को यस गीतमा स्वस्तिमा खड्का र समाइरा थापालगायत कलाकारको आकर्षक प्रस्तुति रहेको छ। खेम सेन्चुरी र दीपिका बयम्बु मगरको स्वर रहेको गीतमा रमेश बीजीको शब्द तथा खेम सेन्चुरीकै सङ्गीत छ। गीतको नृत्य निर्देशन प्रदीप लामाले गरेका हुन्।
युट्युबमा लोकप्रिय बनेको यो गीतले टिकटक र इन्स्टाग्राम रिल्समा समेत दर्शकको ध्यान खिचेको छ।
गत वैशाख २५ गते नेपालमा प्रदर्शनमा आएको चलचित्र ‘लालीबजार’ले प्रदर्शनको ५१औँ दिनसमेत मनाएको थियो। दसैँको अवसर पारेर ओटीटी प्लेटफर्म डिगोमा सार्वजनिक गरिएको चलचित्रलाई विदेशमा रहेका नेपाली दर्शकले पनि हेरिरहेका छन्। चलचित्र हेरेपछि दर्शकले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिइरहेका छन्। आमा र छोरीको कथामार्फत शिक्षाको महत्त्व प्रस्तुत गरिएको चलचित्रले सकारात्मक प्रतिक्रिया पाइरहेको जनाइएको छ।
चलचित्रमा स्वस्तिमा खड्का, रविन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी र कुन्टललगायत कलाकारको अभिनय छ। यही चलचित्रमार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले अभिनयमा डेब्यु गरेका छन्।
यम थापाको कथा तथा निर्देशनमा बनेको चलचित्रको पटकथा तथा संवाद यम थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा लेखेका हुन्। प्रदीप भट्टराई कार्यकारी निर्माता रहेको चलचित्रका निर्माता म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ हुन्।


