चितवन । जिल्लामा रहेको धान जोनमा यस वर्ष उत्पादन बढ्ने भएको छ। गत वर्षको तुलनामा यस वर्ष पाँच हजार मेट्रिक टनले धान उत्पादन बढ्ने प्रक्षेपण गरिएको छ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ भरतपुरका सूचना अधिकारी सौरज विश्वकर्माका अनुसार गत वर्षको तुलनामा धान जोनमा धानको उत्पादन बढ्ने देखिएको हो। गत वर्ष जिल्लामा रहेको धान जोनको क्षेत्रफल आठ हजार ५०० हेक्टरमा ४५ हजार मेट्रिक टन उत्पादन भएको थियो। अहिले यो उत्पादन बढेर ५० हजार मेट्रिक टन पुग्ने अनुमान गरिएको उनले बताए।
सूचना अधिकारी विश्वकर्माले भने, ‘धान जोनमा उत्पादन बढेको छ।’ उनले थपे, ‘क्रपकटिङ गर्दा उत्पादन बढेर ५० हजार मेट्रिक टन पुग्ने हामीले अनुमान गरेका छौँ।’
जिल्लामा धान जोनका रूपमा पूर्वी चितवनका तीनवटा पालिकालाई लिइँदै आइएको छ। रत्ननगर, खैरहनी र राप्ती नगरपालिकालाई धान जोनका रूपमा राखिएको छ। जहाँ हर्दिनाथ, सावा मन्सुली, झुरे सावा, गोरखनाथ, राधाचार र सावित्रीलगायतका धानका जातका बीउ लगाइएको छ।
धान जोनअन्तर्गत जिल्लाको खैरहनी नगरपालिका–५ देखि ७ र ९ देखि १३, राप्ती नगरपालिकाको वडा नं १ देखि ४ र ६ एवं रत्ननगर नगरपालिकाको वडा नं ३ देखि ९ सम्मको धानखेती हुने क्षेत्रफललाई राखिएको छ। जोनमा कृषि समूह तथा फार्महरू सहभागी भएका छन्। जिल्लाको समग्र उत्पादनको तथ्याङ्क आउन भने बाँकी नै रहेको छ। समग्र जिल्लाको उत्पादनको विषयमा अहिले क्रपकटिङ भइरहेको कृषि विकास कार्यालय चितवनका कृषि अर्थविज्ञ निर्मल पौडेलले जानकारी दिए।


