काठमाडौं । ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगरको निर्देशनमा बनेको दोस्रो सिनेमा ‘जलाकी’को अमेरिका र क्यानडाका लागि अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री भएको छ। निर्देशक मगरले सिनेमाको प्रदर्शन अधिकार बिक्री भएको जानकारी दिएका हुन्।
पिएनएम एलएलसीले सिनेमाको अमेरिका र क्यानडाका लागि प्रदर्शन अधिकार खरिद गरेको हो। ती दुई देशमा सिनेमाको प्रदर्शन मिति वितरक र निर्माताबीचको आपसी सल्लाहमा तय गरिने निर्देशक मगरले बताएका छन्।
सिनेमाका ‘कलेजीको छेऊ’, ‘चाँदी जलप’ र ‘जाले रुमाल मायालाई’ बोलका गीतसँगै टिजर सार्वजनिक भइसकेका छन्। सार्वजनिक गीत तथा टिजरले दर्शकमाझ चर्चा बटुलिरहेका छन्। विशेषगरी ‘चाँदी जलप’ बोलको गीतमा १० लाखभन्दा बढी टिकटक भिडियो बनेका छन्। अन्य दुई गीत ‘कलेजीको छेऊ’ र ‘जाले रुमाल मायालाई’ पनि रिल्स तथा सर्ट्समा रुचाइएका छन्। सार्वजनिक सामग्रीले सिनेमाप्रति दर्शकको उत्सुकता बढाएको छ।
आगामी मंसिर ४ गतेदेखि प्रदर्शनमा आउने सिनेमाको कथा मगर र गुरुङ समुदायको आस्था, संस्कृति, परम्परा र भावनामा केन्द्रित छ। निर्देशक मगरका अनुसार ‘जलाकी’ मगर समुदायको आस्था, सम्झना र मायाको प्रतीकका रूपमा चिनिने ढुङ्गाले बनाइएको स्तम्भलाई जनाउने शब्द हो। यही सांस्कृतिक प्रतीकलाई केन्द्रमा राखेर सिनेमामा मगर र गुरुङ समुदायको संस्कृति, परम्परा र भावना समेटिएको उनले बताएका छन्।
सिनेमामा उपासना सिंह ठकुरी, सोनम तोप्देन, शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, रजनी गुरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्कबहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर र दुइसाङ थिनलगायतका कलाकारको अभिनय रहेको छ। क्याप्टेन विजय लामाको विशेष भूमिका रहेको सिनेमामा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा र रिन्सी धनहा मगर बालकलाकारका रूपमा देखिनेछन्। यसै सिनेमाबाट मिस सिक्किम साहारा हाङमा लिम्बूले नेपाली रजतपटमा डेब्यु गरेकी छन्।
एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमाका निर्मातामा ओम घर्ति मगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर (बबिता राना), मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन्।
‘जलाकी’लाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिस्ट्रीब्युसनले वितरण गर्नेछन्।


