पोखरा । गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री वेदबहादुर गुरुङ (श्याम) को परिकल्पनामा निर्माण भइरहेको नेपाली चलचित्र ‘बुकी फूल’को सम्पूर्ण छायांकन सम्पन्न भएको छ। मंगलबार कास्कीको मादी गाउँपालिकास्थित पर्यटकीय गाउँ ताङतिङमा अन्तिम दृश्य छायांकन गर्दै चलचित्रको इन्डक्ल्याप गरिएको हो।
अभियान फिल्म्स प्रोडक्सन प्रा.लि., पोखराको ब्यानरमा निर्माण भइरहेको चलचित्र गुरुङ सभ्यता, संस्कृति, संस्कार र ऐतिहासिक कथावस्तुमा आधारित छ। चलचित्रको शुभमुहूर्त गत असोज १ गते कास्कीको पर्यटकीय गाउँ सिक्लेसबाट गरिएको थियो। सिक्लेस र आसपासका क्षेत्रमा छायांकन गरिएको चलचित्रको निर्देशन ओमप्रकाश गुरुङले गरेका छन्।
चलचित्रमा अभिनेता दयाहाङ राई मुख्य भूमिकामा छन्। अभिनेत्री संस्कृति गुरुङले यसै चलचित्रबाट नेपाली रजतपटमा डेब्यु गर्दैछिन्। चलचित्रमा पुष्कर गुरुङ, कविता आले, विश्वास गुरुङ, माया गुरुङ, राजेश गुरुङ, एन्सर्ज गुरुङ, डीबी गुरुङ, बलबहादुर गुरुङ, लालशोभा गुरुङ र प्रकाश घिमिरेलगायत कलाकारको अभिनय रहेको छ।

चलचित्रको छायांकन सुसान प्रजापतिले गरेका हुन्। मुख्य सहायक निर्देशकमा तारानाथ न्यौपाने रहेका छन् भने सहायक निर्देशकका रूपमा विशाल राई र सुरेन्द्र सिंहले काम गरेका छन्। कला निर्देशन कमलबहादुर गुरुङ, याङसाङ राई र रोशन मुर्मुले गरेका छन्। त्यसैगरी, पोसाक व्यवस्थापन कमला छ्यान्त्याल, लाइभ साउन्ड नवीन श्रेष्ठ, मेकअप विक्रम थापा र बीटीएस छायांकन समीर गुरुङले सम्हालेका छन्। सहनिर्माण नियन्त्रक टेक गुरुङ रहेका छन् भने नृत्य निर्देशन कमलबहादुर गुरुङले गरेका छन्।
चलचित्रका प्रोडक्सन म्यानेजर डीबी गुरुङका अनुसार ताङतिङमा अन्तिम दृश्य छायांकन भएसँगै चलचित्रको सम्पूर्ण छायांकन कार्य पूरा भएको हो। निर्माण पक्षले अब छिट्टै सम्पादन कार्य सुरु गर्ने जनाएको छ।
गुरुङ सभ्यताको मौलिक कथा, संस्कृति, परम्परा र ऐतिहासिक परिवेशलाई पर्दामा उतार्ने उद्देश्यले निर्माण भइरहेको ‘बुकी फूल’ले फरक कथावस्तु र प्रस्तुतिमार्फत दर्शकको ध्यान आकर्षित गर्ने अपेक्षा गरिएको छ। चलचित्रमा तत्कालीन जीवनशैली र सांस्कृतिक पहिचानलाई कसरी प्रस्तुत गरिएको छ भन्ने विषयले पनि यसको प्रतीक्षालाई रोचक बनाएको छ।
छायांकन सम्पन्न गर्न सहयोग पुर्याउने कलाकार, प्राविधिक, स्थानीयवासी, शुभेच्छुक तथा सम्पूर्ण चलचित्र परिवारप्रति निर्माण पक्षले आभार व्यक्त गरेको छ। अब सम्पादनको चरणमा प्रवेश गरेको ‘बुकी फूल’ प्रदर्शनको तयारीतर्फ अघि बढेको छ।


